काठमाडौं। लिओनल मेसीको नेतृत्वमा रहेको इन्टर मियामीले २०२५ मा हुने क्लब विश्वकपको उद्घाटन खेल इजिप्टको क्लब अल–अहलीविरुद्ध खेल्ने भएको छ।
फिफाले प्रतियोगिताका लागि आयोजक राष्ट्रका टोलीलाई समावेश गरेको भन्दै केही आलोचना भएपनि इन्टर मियामीले आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ। विश्व फुटबलको प्रतिष्ठित प्रतियोगितामा सहभागी हुने अवसर पाएको इन्टर मियामीले आगामी जुन १५ मा फ्लोरिडाको मियामी गार्डेनस्थित हार्ड रक स्टेडियममा आफ्नो पहिलो खेल खेल्नेछ।
प्रतियोगितामा चार–चार टोलीका आठ समूह छन्। प्रत्येक समूहबाट शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन्। समूह ‘ए’ मा इन्टर मियामीसँगै ब्राजिलियन क्लब पाल्मेरास, पोर्चुगलको पोर्टो र अल–अहली छन्।
अन्य समूहमा केही उत्कृष्ट क्लबको उपस्थिति छ। समूह ‘बी’ मा पेरिस सेन्ट जर्मेन (पिएसजी), एट्लेटिको मड्रिड, ब्राजिलियन टोली बोटाफोगो र मेजर लिग सकर (एमएलएस) को सिएटल साउन्डर्स छन्। यस्तै, समूह ‘एच’ मा रियल मड्रिड, साउदी क्लब अल–हिलाल, मेक्सिकोको पाचुका र अस्ट्रियाको साल्जबर्ग छन्।
प्रतियोगितामा म्यानचेस्टर सिटी, बायर्न म्युनिख, रियल मड्रिड, चेल्सी, इन्टर मिलान, बोरुसिया डर्टमुन्डजस्ता युरोपका शीर्ष क्लबहरूले भाग लिँदैछन्। दक्षिण अमेरिकाबाट फ्लामेन्गो, रिभर प्लेट, फ्लुमिनेन्सजस्ता चर्चित टोलीहरू पनि समावेश छन्।
इन्टर मियामीको छनोटलाई कतिपयले विवादास्पद भनेका छन्। नियमित सिजनमा उत्कृष्ट प्रदर्शन नगरेपनि आयोजक राष्ट्रको प्रतिनिधिको रूपमा मियामीले स्थान पाएको हो। इन्टर मियामीका सह–मालिक जर्ज मासले भने, ‘हामीले पाँच वर्षअघि यस्तो अवसरको कल्पना पनि गरेका थिएनौं। विश्वकै उत्कृष्ट क्लबहरूसँग प्रतिस्पर्धा गर्ने हाम्रो सपना आज साकार हुँदैछ।’
समूह
समूह ‘ए’ : पाल्मेरास, पोर्टो, अल अहली, इन्टर मियामी
समूह ‘बी’ : पीएसजी, एट्लेटिको मड्रिड, बोटाफोगो, सिएटल
समूह ‘सी’ : बायर्न म्युनिख, अकल्याण्ड सिटी, बोका जुनियर्स, बेनफिका
समूह ‘डी’ : फ्लामेन्गो, ईएस ट्युनिस, चेल्सी, लियोन
समूह ‘ई’ : रिभर प्लेट, उरावा, मोन्टेरी, इन्टर मिलान
समूह ‘एफ’ : फ्लुमिनेन्स, बोरुसिया डर्टमुन्ड, उल्सान, मामेलोडी सनडाउन्स
समूह ‘जी’ : म्यानचेस्टर सिटी, वाइडाड, अल ऐन, युभेन्टस
समूह ‘एच’ : रियल मड्रिड, अल–हिलाल, पाचुका, साल्जबर्ग
क्लब विश्वकप २०२५ जुन १५ देखि जुलाई १३ सम्म अमेरिकाका ११ सहरका १२ स्टेडियममा हुनेछ। फाइनल खेल न्यूजर्सीको मेटलाइफ स्टेडियममा हुनेछ, जसले २०२६ को फिफा विश्वकप फाइनल पनि आयोजना गर्नेछ।
मेसी र इन्टर मियामीका लागि यो प्रतियोगिता ठूलो अवसर हुनेछ। इन्टर मियामीले इतिहास रच्न सक्छ वा विश्वका उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गर्न चुनौती सामना गर्नुपर्छ। फुटबलप्रेमीहरूले यो प्रतियोगितालाई विश्वभरका उत्कृष्ट खेलाडीहरूको जमघटको रूपमा लिने अपेक्षा गरिएको छ।