काठमाडौं। ‘ए’ डिभिजन फुटबल क्लब हिमालयन शेर्पाले पनि एन्फा यु– १६ लिग खेल्ने भएको छ। गत मंसिर १३ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा र ‘ए’ डिभिजन क्लबबीच भएको बैठकले पुस १२ गतेदेखि लिग सञ्चालन गर्ने निर्णय गरेको थियो।
पहिलो संस्करणको लिगविजेता मच्छिन्द्र फुटबल क्लबसहित १० टोलीले सहभागिता जनाएका थिए। उक्त संस्करण एन्फाले ‘ए’ डिभिजनका १४ वटै क्लबलाई टोली खेलाउन पत्र काटेको थियो। तर, हिमालयन शेर्पा, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबले सहभागिता जनाएको थिएन।
यस्तै, थ्रीस्टार भने अन्तिम समयमा नाम फिर्ता लिएपछि खुमलटार एफसीले लिगमा प्रवेश पाएको थियो। त्यतिखेर थ्री स्टारबाहेक अन्य तीन क्लबले आफूसँग एकेडेमी नभएको, तयारी गर्न पर्याप्त समय नदिएको, खर्च धेरै हुने भएको र युथ खेलाडीको पढाइ बिग्रिनेलगायतका समस्या रहेको भन्दै लिग खेल्न अस्वीकार गरेका थिए।
तर, हिमालयन शेर्पा भने लोयल्टी एकेडेमीसँग सम्झौता गर्दै लिगमा फर्किन लागेको हो। यसका लागि मंसिर १६ गते एकेडेमीका अध्यक्ष विजय सम्भाहाम्फे र हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पाले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।
हिमालयन शेर्पाका अनुसार यो सम्झौता भएसँगै लिगमा सहभागी जनाउन छनोटमार्फत खेलाडी छनोट गरिने छ। छनोट बूढानीलकण्ठ नगरपालिका १३ स्थित गाम्चा खेल मैदानमा ड्रगन युवा क्लबको सहकार्यमा शनिबार बिहान आठ बजेदेखि हुने क्लबले जनाएको छ।