नरेनको अद्वितीय बलिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ। बिहीबार भएको खेलमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको हो।
पहिलो खेलमा विराटनगर किङ्सलाई ९० रनले पराजित गरेको सुदूरपश्चिमलाई अर्को जित दिलाउन १८ वर्षीय स्पिनर नरेन साउदले अद्वितीय बलिङ फिगर देखाउँदै सर्वाधिक पाँच विकेट लिए। उनले क्रिजमा जमेर ३७ रन बनाएका स्टेफन इस्किनाजीसँगै ग्रेहार्ड इरास्मस (१०), रासिद खान (दुई), कप्तान करण केसी (एक) र शहब आलम (एक)लाई आउट बनाए।
यस्तै, सुमित महर्जन (१४) लाई क्याच आउट समेत बनाए। यस क्रममा उनले ३.५ ओभर मात्रै बलिङ गर्दै मात्र १९ रन खर्चिए। खेलपछि उनले यो सफलताको पछाडि कप्तान दीपेन्द्रसिंह ऐरीको ठूलो हात रहेको बताए।
‘कप्तान दीपेन्द्र दाइले मलाई जसरी मोटिभेसन गरिराख्नु भएको थियो, धेरै खुसी लागिरहेको छ। किनभने हर बलमा आएर बाउन्ड्री गए पनि केही छैन, तिमीले राम्रो बल फ्याँक्छौं, तिमीमा विश्वास छ र तिमीले विकेट निकाल्छौं भनेर सम्झाइरहनु भएको थियो,’ उनले भने।
एनपिएलमा उनको यो डेब्यु खेल हो। दुबईमा भएको एसिसी यु–१९ एसिया कप खेलेर उनी बुधबार राति मात्रै काठमाडौं फर्किएका थिए। त्यसैले उनले विराटनगरविरुद्धको खेल गुमाए। एसिया कपमा उनी बलिङमा चम्किन भने सकेनन्। श्रीलंकाविरुद्ध एक विकेट मात्रै लिन सके। तर, ब्याटिङबाट भने तीन खेलमा ४६ रन बनाए। समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्ने क्रममा उनले सर्वाधिक २६ रनको योगदान दिए। ५४ बल खेलेर दुई चौका प्रहार गरेका थिए। उनी अब्दुल अजिजको बलमा एलबिडब्यु आउट भए।
नेपाल यही एक खेल जितेर स्वदेश फर्किएको थियो। उक्त खेललाई सम्झिँदै उनले भने, ‘दुई खेल (श्रीलंकासँग ५५ रन र बंगलादेशसँग पाँच विकेटले) हारेपछि अफगानिस्तानविरुद्ध जसरी पनि जित्नुपर्छ भन्ने थियो। किनभने आउने छनोटका लागि नयाँ टिमलाई पनि मोटिभेट हुन्छ। सबै जिम्मेवारी मेरो काँधमा थियो। लास्टसम्म क्रिजमा बसे भने जिताउन सक्छु भन्ने थियो। तर, अलिकति बिग्रियो।’
उनी एनपिएलको एकै इनिङ्समा पाँच विकेट लिने पहिलो नेपाली खेलाडी पनि हुन्। समग्रमा भने एकै इनिङ्समा पाँच विकेट लिने उनी दोस्रो खेलाडी हुन्। यसअघि चितवनमा सोहेल तान्वीरले काठमाडौंविरुद्ध नै पाँच विकेट लिएका थिए। ३९ वर्षीय पाकिस्तानी पेसर बलरले यो सफलता हात पार्न चार ओभर बलिङ गर्दै २१ रन मात्रै खर्चिएका थिए। नरेन यो उपलब्धि हासिल गर्नुमा गर्व महसुस गर्छन्।
‘यति ठूलो नेपाली प्रतियोगितामा पाँच विकेटको छु। यो सफलता हात पार्ने पहिलो नेपाली बलर बनेको छु। यो सबैभन्दा ठूलो कुरा हो। यसमा म खुसी छु,’ उनले भने। कप्तान दीपेन्द्रले पनि नरेनको सफलतामा खुसी व्यक्त गरे। ‘नरेनले भर्खरै एसिया कप खेलेर आएको हो। उसले एकदमै राम्रो बलिङ गर्यो,’ उनले भने।
















