डेब्यु खेलमै नरेनको ५ विकेट, सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं। नरेन साउदको सानदार बलिङसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार दोस्रो जित निकालेको छ। बिहीबार भएको खेलमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको हो।
सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्रै बनाउन सक्यो। यसअघि सुदूरपश्चिमले विराटनगर किङ्सलाई ९० रनले पराजित गरेको थियो। अपराजित रहेको सुदूरपश्चिम चार अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।
सुदूरपश्चिमलाई लगातार जित दिलाउन ३.५ ओभर बलिङ गरेका नरेनले १९ रन मात्रै खर्चिए सर्वाधिक पाँच विकेट लिए। उनको यो डेब्यु खेल हो। दुबईमा भएको एसिसी यु–१९ एसिया कप खेलेर उनी बुधबार राति मात्रै काठमाडौं फर्किएका थिए।
काठमाडौंका स्टेफन इस्कान्जीले सर्वाधिक ३७ रन बनाए। ३३ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे। सुमित महर्जन १० रनमा आउट हुँदा भीम सार्की र ग्रेहार्ड इरास्मसले समान १० रन बनाए। अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
सुदूरपश्चिमका अविनाश बोहराले दुई विकेट लिँदा ब्रान्डन म्याकमुलन र सैफ जैबले समान एक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो।
सुदूरपश्चिमका म्याकमुलनले सर्वाधिक ५३ रन बनाए। ३६ बल खेलेका उनले तीन चौका र चार छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले २५ बलमा तीन चौका र दुई छक्कासहित ४३ रनको योगदान दिए। विनोद भण्डारी ३५ र जैब ११ रनमा आउट भए।
काठमाडौंका रसिद खानले सर्वाधिक दुई विकेट लिए। करण केसी र शहब आलमको नाममा समान एक विकेट रह्यो।
दिनको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हरायो । लगातार तेस्रो जित निकाल्ने क्रममा जनकपुरले पोखरालाई हराएको हो । एभेन्जर्स टिमको यो लगातार दोस्रो हार हो ।
















