काठमाडौं । प्रिमियर लिग फुटबलमा लण्डन क्लबद्धय आर्सनल र चेल्सीले जित निकालेका छन् । बुधबार राति आर्सनलले म्यानचेस्टर युनाईटेड र चेल्सीले साउथह्याम्टनलाई निराश बनाएका हुन् ।
आर्सनलले घरेलु मैदानमा युनाईटेडलाई २–० ले हरायो । आर्सनलले कर्नरबाट प्राप्त बलमा दुई गोल निकाल्दा नयाँ प्रशिक्षक रुबिन एमोरिमले ईङ्लिस फुटबलमा पहिलो हार चाखे ।
डिक्लन राइसले ५४ औं मिनेटमा दिलाएको अग्रतामा थोमस प्याटिले दोस्रो गोल थपे ।
अर्को खेलमा साउथह्याम्टनको मैदानमा चेल्सीले ५–१ को प्रभावशाली जित रच्यो । जाडोन सान्चोले चेल्सीका लागि पहिलो गोल गर्दै लण्डन क्लबले प्रभावशाली जित निकालेको हो । चेल्सीको जितमा एक्सल डिसासी, क्रिस्टोफर नन्कुन्कु, नोनी मडुके र कोल पामरले एक एक गोल गरको थिए । जो एरिबोले घरेलु टोलीका लागि एक गोल फर्काएका थिए ।
अर्को खेलमा लिभरपुलले न्युक्यासलसँग ३–३ गोलको रोमाञ्चक बराबरी खेल्यो । मोहमद सलाहले दुई गोल गरेको खेलमा लिभरपुलले ३ अंक जोगाउन सकेन ।
बराबरीका बाबजुत लिभरपुल ३५ अंक सहित शीर्ष स्थानमा यथावत छ । चेल्सी र आर्सनल समान २८ अंक सहित दोस्रो र तेस्रो स्थानमा छन् ।
म्यानचेस्टर सिटी समेत नोटिङ्हम फोरेस्टलाई हराउँदै २६ अंक सहित तालिकाको चौथों स्थानमा छ ।