भिल्लामाथि टोटनह्यामको दबदबा
आइतबार, कार्तिक १८, २०८१खेलपाटी संवाददाता

काठमाडौं। डोमिनिक सोलन्केको दुई गोलसँगै टोटनह्यामले इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लामाथि सानदार जित हासिल गरेको छ।
टोटनह्याम हटस्पर स्टेडियममा आइतबार भएको खेलमा घरेलु टोलीले भिल्लामाथि दबदबा कायम राख्दै ४-१ को स्कोर निकालेको हो।
टोटनह्यामको यो पाँचौं जित हो। १० खेलबाट १६ अंक पुर्याएको टोटनह्याम सातौं स्थानमा छ। समान खेलबाट दुई अंक बढी जोडेको भिल्ला पाँचौं स्थानमा यथावत छ।
३२औं मिनेटमै मोर्गन रोजर्सले गोल गर्दै भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए। तर, ४९औं मिनेटमा ब्रेनन जोन्सनले घरेलु टोलीलाई खेलमा फर्काए।
७५ र ७९औं मिनेठमा डोमिनिकले गोल गर्दै टोटनह्यामको अग्रता ३-१ मा पुर्याए। दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा जेम्स मैडिसनले गोल थप्दै ४-१ को जित पक्का गराए।