स्टब्सको शतक, दक्षिण अफ्रिका १७४ रनले विजयी
२०२४ अक्टोबर ५, शनिबारखेलपाटी संवाददाता

काठमाडौं। आयरल्यान्डविरुद्धको दोस्रो एकदिवसीय खेलमा ट्रिस्टन स्टब्सले आफ्नो एकदिवसीय करियरको पहिलो शतक प्रहार गरेका छन्।
स्टब्सले ८१ बलमा अविजित ११२ रन बनाएपछि दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३४३ रन बनाएको थियो। अबुधाबीको शेख जायद रंगशालामा जवाफमा उत्रिएको आयरल्यान्डले १६२ रन मात्र बनाउन सक्यो र १७४ रनले पराजित भयो।
खेलमा अफ्रिकाबाट स्टब्स उत्कृष्ट लयमा देखिएका थिए। उनले आक्रामक खेल प्रदर्शन गर्दै ८ चौका र ३ छक्का प्रहार गरे। उनको स्ट्राइक रेट १३८.२७ रह्यो।
उनले वियान मुल्डरसँग ९२ रनको साझेदारी गरे। स्टब्सले ६ एकदिवसीय खेलमा ५७ को औसतमा २२८ रन बनाएका छन्। आयरल्यान्डविरुद्ध जारी सिरिजमा उनले दुई खेलमा १९१ रन बनाए। पछिल्लो खेलमा उनले अर्धशतक पनि बनाएका थिए।