काठमाडौं। नेपाल सिम रेसिङ सिरिज आयोजना हुने भएको छ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ई–स्पोर्ट्स कमिसनले ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) सँगको सहकार्यमा आगामी बिहीबार नेपाल सिम रेसिङ सिरिज आयोजना हुन लागेको हो।
नासा नेपालको ई–स्पोर्ट्स लाइसेन्स प्राप्त खेलाडीहरूले भाग लिने सो सिरिज काठमाडौंको बौद्धस्थित सिम रेसिङ बाई हुवोमामा आयोजना हुनेछ।
सो सिरिजमा खेलाडीहरूले सिमुलेटरमा बसेर टेलिभिजनजस्तै स्क्रिनमा भर्चुअल रूपमा गाडी कुदाउने छन्। यसरी गाडी कुदाउँदा खेलाडीहरूमा वास्तविक गाडी कुदाएको अनुभव हुनेछ।
सो खेलमा न्यूनतम १६ खेलाडीले भाग लिन सक्नेछन्। खेलाडीहरूको रजिस्टे«सन पश्चात् नकआउटका आधारमा विजेता घोषणा गरिने छ। विजेताहरूलाई निकट भविष्यमा मलेसिया लगायत विभिन्न देशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी गराइने छ।
सो प्रतियोगितामा भाग लिन चाहने खेलाडीहरूले आवश्यक फारम भर्नु पर्नेछ। नासा नेपालले लामो समय देखि मोटर स्पोर्ट्स इभेन्ट आयोजना गर्दै आएकोमा अब भने ई–स्पोर्ट्सको समेत आयोजना गर्न लागेको हो। यसको सम्पूर्ण तयारी पुरा भएको र धेरै ई–स्पोर्ट्स प्रेमीहरूलाई सहभागी गराउने उद्देश्यका साथ कार्य भइरहेको इभेन्ट संयोजक अंकित भण्डारीले बताए।
संसारकै युवाहरू बिच अत्यन्तै लोकप्रिय बनेको मोटर स्पोर्ट्समा अर्को नयाँ विधा सिम रेसिङ थपिएको छ। सिम रेसिङ अन्तर्राष्ट्रिय अटो मोबाइल फेडरेसन (एफआईए) तथा यससँग आबद्ध नेपालको संस्था नासा नेपालको आधिकारिक इभेन्टको रूपमा प्रवेश गरेको छ।
गत वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सिंगापुरमा यसको अन्तर्राष्ट्रिय इभेन्ट समेत आयोजना गरिसकेकोले आगामी दिनमा यो खेलको महत्त्व अझै बढेर जाने भएकाले नेपालमा समेत यसको तयारी भइरहेको ई–स्पोर्ट्सका अन्तर्राष्ट्रिय रेफ्री क्षितिज श्रेष्ठले बताए।