काठमाडौं। मकवानपुरमा एन्फाले सञ्चालन गरिरहेको प्रशिक्षण केन्द्र (एकेडेमी) मा पहिरो जाँदा ६ खेलाडी बेपत्ता भएका छन्।
विगत दुई दिनदेखिको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थित वात्सल्यदेवी उच्च माध्यमिक विद्यालयमा पहिरो गएको हो। पहिरोका कारण शनिबार बिहान करिब ६:३० बजे ६ जना खेलाडीहरू सम्पर्कविहीन भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।
सम्पर्कविहीन भएका खेलाडीहरूमा दिवस बानियाँ, प्रियान्स आचार्य, साइमन योञ्जन, अनुपम घलान, विकल रेग्मी, र आदित्य वालमपाकी रहेका छन्। उनीहरू अन्यत्र जान लागेको समयमा पहिरोमा परेको शाहले जनाकारी दिए।
उनका अनुसार खेलाडीहरूको खोजी कार्य तीव्रताका साथ जारी रहेको र अन्य खेलाडीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।