ट्युनिसियाकी योस्रा जेरामदिनीले मधेशबाट खेल्ने
-1724388177.webp&w=3840&q=75)
काठमाडौं। एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि मधेश युनाइटेडले आफ्नो दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ। मधेशले लिगलाई मध्यनजर गर्दै ट्युनिसियाकी योस्रा जेरामदिनीलाई दोस्रो विदेशी खेलाडीको रूपमा भित्र्याएको हो।
योसँगै लिका लागि दुई विदेशी घोषणा गर्ने मधेश पहिलो टोली बनेको छ। मधेशले यसअघि नै काजकिस्तानकी कालिनोभा यभजेनियालाई अनुबन्ध गरिसकेको छ।
ट्युनिसियाकी मिडल ब्लकर योस्राले पहिलो संस्करणको लिमा अब मधेशबाट खेल्नेछिन्। ट्युनिसियाको वर्तमान राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी २३ वर्षीय योस्रासँग रसियन लिग खेलेको अनुभव छ। उनले ट्युनिसियन लिग, ट्युनिसियन सुपर कपसमेत खेलेकी छन्। उनको उचाई १८४ सेन्टिमिटर छ।
योस्राले मधेशसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै आफू एकदमै उत्साहित रहेको बताएकी छन्। 'पहिलो संस्करणको लिगमा म मधेशबाट खेल्दैछु। लिगमा लागि म उत्साहित छु। नेपालको नाम धेरै सुनेको छु। म यो सुन्दर देशमा गएर खेल्न उत्सहित छु,' उनले भनिन्।
मधेशकी अपरेसन हेड संज्ञा श्रेष्ठले योस्रालाई स्वागत गर्दै उनको आगमनले टिम अझ बलियो हुने बताइन्। यसअघि नै मधेशले काजकिस्तानकी हाउटसाइड हिटर कालिनोभा यभजेनियालाई अनुबन्ध गरिसकेको छ।
नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेशको टिममा अहिलेसम्म ८ नेपाली र २ विदेशी गरी १० खेलाडी अनुबन्ध भइसकेका छन्।
मार्कीसहित नेपाली खेलाडीहरुको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ। जसमा राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि छन्। यस्तै, काभा यू२० महिला च्याम्पियनसिप खेले यू२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेश टिममा छन्। राष्ट्रिय टिमबाट खेलिसकेका पुजा थारु र हिरा केसी पनि मधेश टिमबाट खेल्नेछन्। जसना महतो पनि मधेशको टिममा छिन्।
इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन्।















