प्रदेशस्तरीय कबड्डीमा सुनसरी अगाडि
1719927506.jpg&w=3840&q=75)
विराटनगर। मोरङको विराटनगरमा जारी प्रदेशस्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी जिल्ला शीर्षस्थानमा रहेको छ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको दोस्रो दिन सुनसरीले तीन खेल खेल्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ। ताप्लेजुङ र पाँचथर समान अंक ४–४ का साथ दोस्रो स्थानमा छन्। उनीहरुले २–२ खेल खेल्दै जित निकालेका थिए।
सोलुखुम्बुले एक खेलमा जित, एक खेल बराबरी र एक खेल हार्दै तीन अंक प्राप्त गरेको छ। झापा र मोरङले २–२ अंक प्राप्त गर्दा एक खेलमा जित एक खेलमा हारेका छन्। इलाम १ खेलमा जित निकाल्दै दुई अंक प्राप्त गरेको छ। उदयपुरले एक खेलमा बराबरी र एक खेल हार्दै एक अंक प्राप्त गरेको छ।
त्यसैगरी, धनकुटा, संखुवासभा, तेह्रथुम र ओखलढुंगा कुनै पनि खेलमा नतिजा निकाल्न नसक्दा अंकविहीन अवस्थामा छन्। प्रतियोगितामा प्रदेशका १२ वटा जिल्लाको सहभागिता रहेको छ। समूह ‘ए’मा मोरङ, सुनसरी, झापा, सोलुखुम्बु, उदयपुर र धनकुटा छन्। समूह ‘बि’मा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र ओखलढुंगा छन्। भोजपुर र खोटाङले सहभागिता जनाएका छैनन्।
बुधबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने खेलकुद विकास बोर्डले जनाएको छ।