दशौंमा स्वर्ण जिते कर्णालीले ३ लाख दिने !

काठमाडौं । कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने प्रदेशका प्रत्येक खेलाडीलाई ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सम्पन्न बोर्ड बैठकले यस वर्ष आयोजना हुने दशौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशबाट सहभागी भएर स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा यस वर्ष मंसिर २ देखि ९ गतेसम्म आयोजना हुदैछ । आफ्नै प्रदेशमा आयोजना हुने राष्ट्रिय प्रतियोगितामा कर्णालीले दोहोरो अंकको स्वर्ण पदकको लक्ष्य राखेको छ । सोही अनुसारको तयारी कर्णाली प्रदेशले अघि बढाईरहेको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र संञ्जालले प्रदेशले राखेको लक्ष्यमा पुग्न कर्णाली प्रदेशबाट सहभागी भएर स्वर्ण पदक प्राप्त गर्ने प्रत्येक खेलाडीलाई ३ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिने निर्णय भएको बताए ।
यस निर्णयबाट राम्रो नतिजा ल्याउन खेलाडीलाई मेहनत गर्न प्रोत्साहन मिल्ने सदस्य सचिव संञ्जालले बताए ।
बैठकले बागमती प्रदेशमा सम्पन्न अन्तर प्रदेश राष्ट्रिय खेलकुद तथा १४ औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कर्णाली प्रदेशबाट स्वर्ण जित्ने खेलाडीलाई जनही २० हजार, रजत जित्नेलाई १५ हजार र कास्य जित्ने खेलाडीलाई १० हजार प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।