काठमाडौं। फिफा विश्वकप १९९४ संयुक्त राज्य अमेरिका (युएसए) मा फुटबलको लागि परिवर्तनको वाहक बनेको साबित भएको थियो। त्यसबेला फुटबल त्यहाँ लोकप्रिय थिएन।
सकरलाई फुटबल पनि नभनेको खेलको ठूला प्रतियोगिता किन अमेरिकामा तोकियो भनेर प्रश्न तेर्सिएको थियो। तर, एक महिना लामो उत्सवले अन्त्यमा न्याय पाएको प्रस्टै भयो। समग्रमा ३५ लाख ८७ हजार ५ सय ३८ दर्शक उपस्थित भएका थिए।
प्रतिखेल औसत ६८ हजार ९ सय ८१ दर्शकको नयाँ रेकर्ड बनेको थियो। त्यही विश्वकपको सफलतापछि मेजर लिग सकर (एमएलएस) सुरु गरिएको थियो, जहाँ अहिले लियोनल मेसीसहितका खेलाडीहरू छन्। विश्वकपले नै अमेरिकामा युवा पुस्तालाई फुटबलमा करिअर बन्छ भनेर प्रेरित गरेको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि उस्तैगरि आईसीसी पुरुष टी–२० विश्वकपले सकारात्मक प्रभाव पार्ने विश्वास गरेको छ। अमेरिकामा क्रिकेट अझै पनि प्रगतिकै बाटोमा छ, जसले विश्वकपलाई प्रयोग गर्नेछ।
कम्तीमा पनि नयाँ दर्शकले विश्व स्तरीय प्रतिस्पर्धा हेर्ने अवसर पाउनेछन्। भारत, पाकिस्तानसहित क्रिकेट लोकप्रिय रहेको अन्य देशबाट आएर अमेरिका बसिरहेका हजारौंले जीवनमा अविस्मरणीय रहने क्षण अनुभव गर्न सक्छन्। आर्थिक रूपमा पनि आकर्षक छ कि विदेशीहरू खेलको टिकटको लागि अधिक रकम खर्च गर्न चाहन्छन्।
नयाँ खेल स्थलले खेलाडीको परिस्थितिलाई अनुकूलन पार्ने क्षमताको परीक्षा लिनेछ। न्यूयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय रंगशाला निर्माण हालै मात्र सम्पन्न भएको हो।
‘पिच’ केही दिनअघि मात्रै बिछ्याइएको हो। र, एउटै मात्र वार्म–अपको खेलले पिचको सतहले कस्तो व्यवहार देखाउँछ भन्ने संकेत गर्न सक्छ। तत्कालै परिस्थिति अध्ययन गर्न सक्ने टिमलाई सफलता हात पार्ने अवसर छ।
सुपर एट, सेमिफाइनल र फाइनल वेस्ट इन्डिजमा हुनेछ। सन् २०१० को विश्वकप आयोजना गरेको क्यारेवियन द्वीप क्रिकेट समर्थकका लागि बढी सहजता महसुस गर्न सक्ने स्थल हो।
भारतलाई समूह ‘ए’बाट अगाडि बढ्न गाह्रो नहुन सक्छ, जसले उसलाई सुपर एटको पहिलो खेलमा बारबाडोस पुर्याउन सक्छ। पाकिस्तानविरुद्धको खेल आफ्नो अनुकूल भएन भने पनि भारतीय टिमको आयरल्यान्ड, क्यानडा र अमेरिकाले संवत् कडा प्रतिरोध गर्न सक्ने छैन।
सहआयोजक वेस्ट इन्डिज दुईपल्टको टी–२० विश्वकप च्याम्पियन पनि हो। उसको घरेलु परिस्थिति र टी–२० को प्रदर्शनले विपक्षीलाई त्रसित बनाउँछ।
५० ओभरको डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले ठूला अवसरको लागि आफ्नो क्षमताको रक्षा गरिराखेको छ। ट्रेभिस हेडले आईपीएलमाजस्तै पावर–प्लेमा प्रदर्शन गरे भने खेल खत्तम पार्नेछन्।
डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड तीव्र गतिका बलर जोफ्रा आर्चर र मार्क उडले ब्याटर्सलाई ध्वस्त पार्न सक्छन्। पाकिस्तानविरुद्ध चार खेलको टी–२० सिरिज खेल्नको लागि आईपीएलका प्लेअफ गुमाएका कप्तान जोस बटलर ब्याटिङमा चुनौती बन्न सक्छन्।
प्रमुख दाबेदारहरूले जितको लागि आँखा चिम्लेरै पनि खेल्न सक्छन्। संख्या बढाएर २० टिम बनाइएको विस्तारित प्रतियोगिताले ठूला अवसरमा चम्कने दुर्लभ अवसर दिन सक्छ।
युगान्डाका ४३ वर्षीय फ्रयांक एन्सुबुगा यो विश्वकपकै सबभन्दा बढी उमेरका खेलाडी हुन्। उनका निम्ति २७ वर्ष लामो क्रिकेट करिअरको अँध्यारो पाटोलाई चिर्ने अवसर हो।
मिडियाले क्यानडाका लेगस्पिनर जुनैद सिद्दीकीतर्फ माइक्रोन तेस्र्याउनसक्छन्। ‘द एक्स–म्यान’ले चिनिएका उनी कराँचीका सडकमा क्रिकेट खेलेर हुर्किएका थिए, जो १३ वर्षको उमेरमा टोरोन्टो सरेका हुन्। त्यसैले पुरुष टी–२० विश्वकप सबैका निम्ति केही विशेष हो।
सहआयोजक अमेरिकाविरुद्ध क्यानडाको प्रतिस्पर्धासँगै आइतबार बिहान एक महिना लामो टी–२० विश्वकपको नवौं संस्करण सुरु हुँदैछ।