काठमाडौं। आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको उद्घाटन खेलमा हेल्प नेपाल स्पोर्टस क्लब र बूढानीलकण्ठ भलिबल क्लब भिड्ने भएका छन्।
नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिता १९ जेठबाट सुरू हुने छ। प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई खेल हुने छ। उद्घाटनपछि पुरुषतर्फ नै नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश, एपिएफ र गण्डकी प्रदेश तथा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच खेल हुनेछ।
यसैगरी, महिलातर्फ एपिएफ र न्यू डायमन्ड स्पोर्ट्स क्लब तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन्।
जेठ १९ देखि २६ सम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने लिगमा पुरुषतर्फ आठ र महिलातर्फ छ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
लिगमा पुरुषतर्फ २८ र महिलातर्फ १५ खेल हुनेछन्। लिग चरणपछि महिला र पुरुष दुवैमा शीर्ष दुईमा रहने टोलीबीच फाइनल हुनेछ।
लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोटर्स क्लब, एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब सहभागि छन्।
यसैगरी, महिलातर्फ एभरेस्ट भलिबल क्लब, नेपाल पुलिस, एपिएफ, न्यू डायमन्ड, त्रिभुवन आर्मी, कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।
लिगमा सहभागि टिमले संघको नियमअनुसार तीन विदेशी खेलाडीलाई राख्न सक्नेछन्। प्रतियोगितामा दुवपैतर्फको विजेताले ८ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, उपविजेताले चार लाख र तेस्रो हुनेले दुई लाख रुपैयाँ पाउने छन्।
त्यस्तै, विधागततर्फ सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान ५० हजार तथा उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।