विराटनगर। तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगितामा जोगवनीको प्रशान्त क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब अन्तिम ८ मा पुगेको छ।
विराटनगर जुट मिलको खेल मैदानमा भएको पहिलो खेलमा जोगवनीले घरेलु टिम बीसीसीए विराटनगरलाई ६२ रनले र दोस्रो खेलमा सुनसरी क्रिकेट क्लबले आयोजक मिल्स क्रिकेट क्लबलाई ११ रनले हराउँदै दुई टोली अन्तिम ८ मा पुगेको हो।
जोगवनीले दिएको २५२ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले सबै विकेट गुमाइ १८९ रन मात्रै बनाउन सक्यो। विराटनगरका आशुतोष सिंहले २४ बलमा ३९ रन बनाए। धिरज कामतले २१ बलमा २९ रन बनाउँदा हर्ष यादवले २१ रनको योगदान दिए। जोगवनीका अभिषेक राजा, नवित, जयन्त कुमारले समान २/२ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको जोगवनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २५१ रन बनाएको हो। जोगवनीका असिक कुमारले अर्धशतक पूरा गरे। उनले १९ बलमा ५ छक्का र ३ चौका हिर्काउँदै ५० रन बनाए।
यशदर्शन कुमारले १८ बलमा ४६ रन पारी खेल्दा राजा बाबुले ३७ बलमा ४४ रनको योगदान दिए। उत्तम कुमारले अविजित २३ रन बनाउँदा कोनाइव कुमारले २० रन बनाए।
विराटनगरका कार्तिक कुमारले ४ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए। आयुष कुमारले २ विकेट र आशुतोष सिंहले १ विकेट लिए। सर्वाधिक रन बनाउने खेलाडी असिक खेलको प्लेर अफ द म्याच घोषित भए।
दोस्रो खेलमा सुनसरीको जित
१६७ रनको विजय लक्ष्य पछ्याएको आयोजक मिल्स क्रिकेटले १८.२ ओभरमा १० विकेट गुमाई १५५ रन मात्रै बनायो। जसमा कुमारले ३१ बलमा अर्धशतक कटाउँदै ७१ रन बनाए। झोला साहले २५ बलमा ३० रन ल्याउँदा बुद्रा कुमारले २४ रन बनाए।
सुनसरीका बलर प्रकाश कार्कीले कसिलो बलिङ गर्दै ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए। भूपाल लुइँटेलले २ विकेट लिए।
त्यसअघि सुनसरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १६६ रन बनाएथियो। सुनसरीकारविन मण्डलले जितको लागि आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरे। उनले ४७ बलमा ८८ रन बनाउँदै
सुनसरीका सविन यादवले १८ बलमा २९ रन पारी खेल्दा समीरले १२ रनको योगदान दिए। मिल्स क्रिकेटको तर्फबाट गुल्नशकुमार राजले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए। पुष्कर झाले ४ ओभरमा २० रन खर्चेर ३ विकेट र रितेश सिंहले १ विकेट लिए।
बिपोस्टिङ बलिङ गर्ने सुनसरीका प्रकाश खेलको प्लेअर अफ द म्याच घोषित भए। उनले नगद तीन हजार पाए। बिहीबारको पहिलो क्वार्टरफाइनल खेल जोगवनीको प्रशान्त क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लबबीच हुने छ।