काठमाडौँ। दिल्ली क्यापिटलमाथि रोमाञ्चक जित हासिल गर्दै पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी शुरूआत गरेको छ। शनिबार सम्पन्न दिनको पहिलो खेलमा दिल्लीलाई पञ्जाबले ४ विकेटले पराजित गरेको हो।
दिल्लीले दिएको १७५ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९.२ अर्थात् निर्धारित २० ओभर सकिँन ४ बल बाँकी छँदा ६ विकेट गुमाउँदै १७७ रन बनायो।
दिल्लीलाई जितका लागि अन्तिम ओभरमा ६ रन चाहिएको थियो। सुमित कुमारले शुरूआती दुई बल वाइड फ्याँक्दै २ रन दिए। त्यसपछि सुमितले लियम लिविंगस्टनलाई ब्याक अफ लेन्थमा बल फ्याँक्दै कुनै रन दिएनन्।
दोस्रो बल भने सुमितले शर्ट बल फ्याँकेका थिए। उक्त बललाई लिविंगस्टनले छक्का प्रहार गर्दै पञ्जाबलाई ४ बल अगाडि नै जित दिलाए।
लिविंगस्टनले अविजित रहँदै ३८ रन बनाए। उनले २१ बलमा २ चौका र ३ छक्का प्रहार गरे। हरप्रीत सिंह २ रनमा अविजित रहे।
पञ्जाबका सैम कुरनले सर्वाधिक ६३ रन बनाउँदा प्रभसिमरन सिंह २६, ओपनर तथा कप्तान शिखर धावन २२ रनमा आउट हुँदा जोनी बेयरस्टो र जितेश शर्माले ९/९ रन बनाए।
शशांक सिंहले भने खाता खोल्न सकेनन्। दिल्लीका कुलदीप यादव र खलील अहमदले २/२ विकेट लिए। इशान्त शर्माको नाममा १ विकेट रह्यो।
त्यसअघि महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७४ रन बनायो।
दिल्लीका शाई होपले सर्वाधिक ३३ रन बनाए। उनले २५ बलमा २ चौका र २ छक्का प्रहार गरे। अभिषेक पोरेल ३२ रनमा अविजित रहे।
ओपनर डेविड वार्नर २९, अक्षर पटेल २१, मिचेल मार्श २० र कप्तान ऋषभ पन्त १८ रनमा आउट भए। अन्यले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
पञ्जाबका अर्शदीप सिंह र हर्षल पटेलले २/२ विकेट लिए। कागिसो रबाडा, हरप्रीत बराड र राहुल चाहरको नाममा १/१ विकेट रह्यो।