काठमाडौँ। भारतीय क्रिकेट विराट कोहलीले टी–२० मा १२ हजार रन पूरा गरेका छन्। इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेलिरहेका उनले शुक्रबार सम्पन्न उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किंग्सविरुद्ध २० बलमा १ छक्कासहित २१ रन प्रहार गर्दै १२ हजार रन पूरा गरेका हुन्।
टी–२० क्रिकेटमा घरेलु, अन्तर्राष्ट्रिय र लिग प्रतियोगिता समावेश छन्। कोहलीले आफ्नो ३६०औँ इनिङ्समा १२ हजार रनको अंक पार गरेका हुन्। उनी सबैभन्दा छिटो यो कीर्तिमान बनाउने दोस्रो ब्याट्सम्यान बने। यसअघि वेस्ट इन्डिजका क्रिस गेलले ३४५ इनिङ्समा १२ हजार रन पूरा गरेका थिए।
कोहली १२ हजार रन बनाउने विश्वका छैटौँ र भारतबाट पहिलो ब्याट्सम्यान बने। टी–२० मा सर्वाधिक रन बनाउने कीर्तिमान गेलको नाममा छ। उनले १४ हजार ५६२ रन बनाएका छन्।
कोहलीले चेन्नई सुपर किंग्सविरुद्ध आईपीएलमा एक हजार रन पनि पूरा गरेका छन्। चेन्नईविरुद्ध आफ्नो १५औँ रन बनाउने बित्तिकै उनले यो कीर्तिमान पूरा गरेका हुन्। यसअघि शिखर धवनले चेन्नईविरुद्ध एक हजार रन बनाएका थिए।
कोहलीले दिल्लीविरुद्ध पनि एक हजार रन बनाएका छन्। आईपीएलमा दुई टोलीविरुद्ध एक हजारभन्दा बढी रन बनाउने उनी दोस्रो ब्याट्सम्यान बनेका छन्। यसअघि डेभिड वार्नरले पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्सविरुद्ध पनि एक हजारभन्दा बढी रन बनाएका थिए।