काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)को १७औँ संस्करण शुरू हुन अब केही घण्टा मात्रै बाँकी छ। शुक्रबार साँझ हुने पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरसँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोलीले यस खेलको तयारी पूरा गरिसकेका छन्।
दुवै टोलीमा अनुभवी र विदेशी खेलाडीहरू छन्। त्यसैले यस सिजनको शुरूआत जितका साथ गर्न चाहन्छन्। त्यसैले चेन्नईका नयाँ कप्तान ऋतुराज गायकवाड र बैंग्लोरका कप्तान फाफ डुप्लेसिसले प्लेइङ इलेभेनमा कसलाई मौका दिन्छन् त्यो हेर्न रोचक हुने छ।
आईपीएल इतिहासमा यी दुई टोली ३१ पटक आमुन्नेसामुन्ने भइसकेका छन्। ती ३१ मध्ये २० खेल चेन्नईले जितेको छ भने १० खेल बैंग्लोरले जितेको छ। दुई खेल भने अनिर्णीत रहेको छ
तथ्यांकलाई हेर्दा चेन्नई बलियो देखिन्छ। तर, टी–२० क्रिकेटमा एक बलले खेल परिवर्तन हुने भएकाले कुन टोलीले खेल जित्छ भन्न गाह्रो छ।
पछिल्ला ५ खेलमा चेन्नई हाबी
२०२१ देखि २०२३ सम्म दुई टोलीबिच खेलेका पछिल्लो पाँच खेलमध्ये चेन्नईले चार खेल जितेको छ। एक खेल भने बैंग्लोरले जितेको थियो। सन् २०२१ को सिजनमा यी दुई टोलीबिच दुई खेल भएको थियो। ती दुवै खेलमा चेन्नई विजयी भयो। सन् २०२२ मा पनि यी दुई टोलीबिच दुई खेल भएका थिए। उक्त सिजन भने दुवैले १/१ खेल जितेका थिए।
गत सिजन दुई टोलीबिच एउटा मात्र खेल भएको थियो। उक्त खेलमा चेन्नईले बैंग्लोरलाई ८ रनले पराजित गरेको थियो।