काठमाडौँ। यू–१९ विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका दक्षिण अफ्रिका मध्यम गतिका बलर क्वेना माफाकाले मुम्बई इन्डियन्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन्।
श्रीलंकाका फास्ट बलर दिलशान मदुशंका घाइते भएपछि १७ वर्षीय माफाकालाई मुम्बईले टोलीमा समावेश गरेको हो। मदुशंकालाई मुम्बईले चार करवड ६० लाखमा किनेको थियो। उनलाई पावरप्ले बलिङको विकल्पको रूपमा पनि हेरिएको थियो।
मदुशंकाले एक दिवसीय विश्वकपमा २१ विकेट लिएका थिए। यस महिनाको शुरूमा बंगलादेश भ्रमणका क्रममा मदुशंकाको ह्यामस्ट्रिङमा चोट लागेको थियो। जसका कारण उनी पूरै सिजन आईपीएलबाट बाहिरिएका थिए।
माफाकाले यू–१९ विश्वकपमा सर्वाधिक २१ विकेट लिएका थिए। उनले प्रथम श्रेणी क्रिकेटसम्म खेलिसकेका छन्।