काठमाडौँ। महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स गत सिजन पाँचौँ पटक इन्डियन प्रिमियर लिग (आईपीएल) जित्न सफल भएको थियो।
अहमदाबादमा भएको रोमाञ्चक फाइनल खेलमा चेन्नईले डकवर्थ लुइस (डीएलएस)मा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गरको थियो।
साबिक विजेता चेन्नई यसपटक सोही लय दोहर्याउने लक्ष्यमा हुने छ। शुक्रबार हुने उद्घाटन खेलमार्फत चेन्नईले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्दै यसको शुरूआत गर्ने छ।
चेन्नईको सबैभन्दा बलियो पक्ष भनेको उसको कप्तान धोनी नै हुन्। धोनीले गत सिजन १८२.४६ को स्ट्राइक रेटमा रन बनाएका थिए। उमेरले चार दशक कटिसकेका उनको यो नै अन्तिम प्रतियोगिता हुने आकलन गरिएको छ। तर, यो त हल्ला न हो।
सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। त्योसँगै उनले फ्रेन्चाइजी क्रिकेटबाट पनि सन्न्यास लिने हल्ला चलेको थियो। यसपटक पनि सोही हल्ला क्रिकेट जगतमा छ।
तर, क्रिकेटमा उनीजतिको बलियो रणनीति बनाउन माहिर कप्तान सायद कोही छैनन्। भारतीय टोलीलाई विश्वकप र च्याम्पियन ट्रफी जिताइसकेका धोनी फ्रेन्चाइजी लिगमा पनि उत्तिकै सफल छन्।
सन् २००८ मा शुरू भएको आईपीएलको पहिलो संस्करणदेखि नै चेन्नई सम्हालेका उनले ५ पटक टोलीलाई विजेता बनाएका छन्। उनको कप्तानीमा चेन्नाईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो। त्यति नै पटक चेन्नई उपविजेता बनिसकेको छ।
पहिलो सिजनमा राजस्थान रोयल्ससँग फाइनलमा ५ विकेटले पराजित भएको चेन्नई अर्को सिजनमा भने सेमिफाइनलबाट माथि उक्लिन सकेन्। साउथ अफ्रिकाको जोहानेसबर्ग भएको दोस्रो सेमिफाइनल खेलमा चेन्नई बैंग्लोरसँग ६ विकेटले पराजित भएको थियो।

तेस्रो सिजनमा भने चेन्नईले कमब्याक गर्दै फाइनलमा स्थानमा बनायो। नाभी मुम्बईमा भएको भिडन्तमा चेन्नईले घरेलु टोली मुम्बई इन्डियन्सलाई २२ रनले पराजित गर्दै पहिलो उपाधि जित्यो।
चौथो संस्करणमा पनि चेन्नईले सोही लय कायम राख्यो। घरेलु मैदानमा भएको खेलमा चेन्नईले बैंग्लोरलाई ५८ रनले पराजित गर्दै पहिलो संस्करणको फाइनल भिड्न्तमा भएको हारको बदला लियो।
पाँचौँ र छैटौँ संस्करणमा भने चेन्नई उपविजेता बन्यो। सन् २०१२ मा घरेलु मैदानमा भएको फाइनल खेलमा चेन्नई कोलकाता नाइट राइडर्ससँग ५ विकेटले पराजित बन्यो। अर्को सिजन पनि फाइनल पुगेको चेन्नई मुम्बईसँग २३ रनले पराजित हुँदै उपविजेतामा सिमित बन्यो।
तर, २०१४ को संस्करणमा भने चेन्नई प्लेअफबाटै बाहिरियो। २०१५ को फाइनलमा मुम्बईसँग दोस्रो पटक पराजित हुँदै उपाधि गुमाएको चेन्नई दुई संस्करणमा भने फिक्सिङ गरेको प्रमाण भएपछि निलम्बनमा परेको थियो।
२०१८ मा प्रतियोगितामा चेन्नईले सानदार पुनरागमन गर्यो। शीर्ष स्थानमा रहेर प्लेअफ पुगेको चेन्नईले सनराइजर्स हैदराबादलाई २ र ८ विकेटले पराजित गर्दै उपाधि जित्यो।

२०१९ मा मुम्बईसँग फाइनलमा १ रनले पराजित भएको चेन्नई अर्को संस्करणमा लिग स्टेजबाटै बाहिरियो। २०२१ मा फाइनलमा कोलकातालाई २७ रनले पराजित गरेको चेन्नाईले अर्को संस्करणमा धोनीलाई कप्तानीबाट हटाउँदै रवीन्द्र जडेजालाई जिम्मेवारी सुम्पियो। बीचतिर धोनीले पुन: कप्तानी सम्हालेका थिए तर १० खेलमा हार बेहोर्दै चेन्नईले नवौँ स्थानमा रहेर प्रतियोगिता अन्त्य गर्यो।
तर, १६औँ संस्करणमा भने चेन्नईले त्यो धुमिल भएको छवि सुधार गर्दै पाँचौँ पटक उपाधि जित्यो। हालसम्म मुम्बई र चेन्नईले सर्वाधिक ५/५ पटक उपाधि जितेका छन्। कोलकताले दुई पटक उपाधि जित्दा गुजरात, हैदराबाद, राजस्थान र दिल्ली क्यापिटलले १/१ पटक जितेका छन्।
कस्तो छ चेन्नईको टोली?
यसपटक चेन्नईले अक्सनमा ६ खेलाडी किनेको थियो। जसमा ३ विदेशी र २ अनक्याप्ड छन्। टोलीमा डेरिल मिचेल, मिचेल सेन्टनर, मोइन अली र रवीन्द्र जडेजाजस्ता नाम चलेका ९ अलराउन्डर छन्।
बेन स्टोक्स र ड्वेन प्रिटोरियसलाई रिलिज गरेपछि चेन्नईले रचिन रवीन्द्र र डेरिल मिचेललाई आफ्नो टोलीमा समावेश गरेको छ। घाइते डेभोन कोन्वेको स्थानमा रविन्द्रले शीर्षक्रममा स्थान पाउन सक्नेछन्। रविन्द्रले बायाँ हात स्पिन पनि गर्छन्।

योसँगै अलीको स्थानमा डेरिल मिचेललाई पनि सजिलै टोलीमा समावेश गर्न सकिन्छ। चेन्नईको टोलीमा समीर पनि छन्, जसले यूपी टी२० लिग र सैयद मुश्ताक अली ट्रफीमा स्पिनविरुद्ध राम्रो खेलेका थिए।
चेन्नईले तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई श्रीलंकाका मथीशा पाथिरानाको ब्याकअपको रूपमा किनेको थियो। तर, उनीलाई ह्यामस्ट्रिङको चोटका छ। रहमानपनि चोटिल छन्। श्रीलंकासँग खेल्ने क्रममा उनी तेस्रो एक दिवसीय खेलमा घाइते भएका थिए।
शार्दूल दुई सिजनपछि चेन्नईको टिममा देखिँदै छन्। उद्घाटन खेल चेन्नईको घरेलु मैदान चेपौक स्टेडियममा हुने छ। त्यहाँको पिचलाई ध्यानमा राख्दै धोनी र स्टिभन फ्लेमिङले स्पिनरविरुद्ध हार्ड हिटरहरू भएको टोली निर्माण गर्ने प्रयास गरेका छन्।
तर, चेन्नईको ब्याटिङ डेप्थ निकै राम्रो छ। तुषार देश पाण्डेले हालै रणजी ट्रफीको क्वार्टरफाइनलमा ११ नम्बरमा ब्याटिङ गर्दै १२३ रनको इनिङ्स खेलेका थिए।

चेन्नईका नयाँ खेलाडी रवीन्द्र र मिचेलले पनि एक दिवसीय विश्वकपमा स्पिनविरुद्ध राम्रो खेल्न सक्ने क्षमता रहेको देखाएका छन्। महिष थेक्षाना (मिस्ट्री स्पिन), मोइन अली (अफ स्पिन), रवीन्द्र जडेजा, मिचेल सान्टनर, निशान सिन्धु, अजय मण्डल (बायाँ हाते फिगर स्पिन) र प्रशान्त सोलंकी (लेग स्पिन)ले चेन्नई टोलीलाई बलियो बनाएको छ।
नराम्रो पक्ष
दीपक चाहरले डिसेम्बर २०२३ पछि कुनै पनि प्रतिस्पर्धात्मक खेल खेलेका छैनन्। मुकेश चौधरी र सिमरजीत सिंह पनि लामो समयको चोटपछि टोलीमा फर्किएका छन्। दुवै फास्ट बलरले डिसेम्बर २०२२ यता कुनै पनि प्रतिस्पर्धात्मक खेल खेलेका छैनन्।
ऋतुराज गायकवाडले यो वर्ष एक मात्र प्रतिस्पर्धात्मक खेल खेलेका छन्। उनलाई औँलाको चोट लागेको थियो। धोनी आफैँ घुँडाको शल्यक्रिया गरेर मैदानमा फर्किएका छन्।
अजिंक्य रहाणेको पछिल्लो फार्म खासै राम्रो रहेको छैन। उनले १३ रणजी इनिङ्समा २१४ रन मात्र बनाएका थिए। यसबाहेक विजय हजारे र सैयद मुश्ताक अली ट्रफीमा उनको प्रदर्शन राम्रो थिएन।
न्युजिल्यान्डका विकेटकिपर ब्याट्सम्यान कोन्वे औँलाको चोटका कारण मे महिनासम्म आराममा छन्। शिवम दुबेपनि साइड स्ट्रेन समस्याका कारण रणजी ट्रफीको नकआउट खेल्न सकेका थिएनन्।