काठमाडौं- सन् २०२३ मा वुमन्स प्रिमियर लिग शुरू भयो र रोयल च्यालेन्जर्स बैंग्लोरले उत्कृष्ट टिम मैदानमा उतार्यो।
स्मृति मन्धाना, एलिस पेरी र सोफी डेभिनजस्ता खेलाडी भएपनि बैंग्लोर ८ मध्ये ६ खेलमा हार बेहोरेर लिग चरणबाटै बाहिरियो। त्यसको ठीक एक वर्षपछि टोलीले फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै उपाधि जित्यो।
दोस्रो सिजनको फाइनलमा बैंग्लोरले उपाधिमाथि कब्जा गरेको हो। फिरोजशाह कोटला मैदानमा आइतबार २८ हजारभन्दा दर्शकको उपस्थिमा फाइनल खेल भएको थियो। प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको थियो। घरेलु टोली दिल्ली लगातार दोस्रो पटक फाइनलमा पुगेको थियो। फाइनलमा दिल्लीकी कप्तान मेग ल्यानिङले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी थिइन्। दिल्लीको शुरूआत राम्रै भएको थियो, पावरप्लेमा ६१ रन।
राम्रो शुरूआत गरेपनि दिल्लीले बैंग्लोरका स्पिनरविरुद्ध खुलेर खेल्न सकेनन्। आशा शोभना, श्रेयंका पाटिल र सोफी मोलिनेक्सले १०.३ ओभरमा ४६ रन दिएर ९ विकेट लिएपछि दिल्ली ११३ रनमा सिमित भयो।
बैंग्लोरले मेग ल्यानिङलाई पहिलो ओभरमै रनआउट गर्ने मौका गुमाएको थियो। शेफाली बर्मा अर्को छेउमा पुगेसकेकी थिइन्, तर ल्यानिङ रनका लागि दौडिनन्। यो मौका गुमाएपछि बैंग्लोरले पावरप्लेमा कुनै मौका पाएन। विशेषगरी पावरप्लेमा शेफालीले धेरै शटहरू प्रहार गरिन्। उनले फ्रन्ट साइडमा तीन ठूला छक्का प्रहार गर्दै दिल्लीलाई पावरप्लेमा ६१-० को स्थितिमा पुर्याउन सहयोगी भूमिका खेलिन्। तर, पावरप्लेपछि बैंग्लोर खेलमा हाबी भयो।
आठौँ ओभरमा आएकी सोफी मोलिनेक्सले बैंग्लोरलाई खेलमा पुनरागमन गराइन्। उनले आफ्नो ओभरको पहिलो बलमा शेफालीलाई डिप मिडविकेटमा क्याच आउट गराइन्। ओभरको तेस्रो र चौथो बलमा उनले जेमिमाह रोड्रिग्ज र एलिस क्याप्सीलाई क्लिन बोल्ड गरिन्। रोड्रिग्वेज स्विप र क्याप्सी स्कूप खेल्ने क्रममा आउट भइन्। ६–१५ ओभरको बीचमा दिल्लीले ७ विकेट गुमाएर २९ रन मात्र बनाएको थियो।
श्रेयांकाले ३.३ ओभरमा १२ रन दिएर सर्वाधिक चार विकेट लिइन्। मोलिनेक्सले पनि चार ओभरमा २० रन दिएर तीन विकेट लिइन् भने आशाले तीन ओभरमा १४ रन दिएर दुई विकेट लिइन्।
लक्ष्य पछ्याउने क्रममा बैंग्लोरले पावरप्लेमा कुनै विकेट नगुमाई २५ रन बनाएको थियो। पावरप्ले सकिएपछि अर्को ओभरमा सोफी डिभाइनले खुलेर राधा यादवविरुद्ध तीन चौका र एउटा ठूलो छक्का प्रहार गरिन्। स्मृति मन्धाना र डिभाइनको ओपनिङ जोडी झन खतरनाक बन्दै गएको थियो। तर, नवौँ ओभरको पहिलो बलमा शिखा पाण्डेले एलबीडब्यू आउट गरिन्।
डिभाइन आउट भएपछि एलिस पेरी र मन्धनाले इनिङ्सलाई अगाडि बढाएका थिए। १५औँ ओभरमा मिन्नु मणिले मन्धानालाई क्याच आउट गराए। मन्धना ३९ बलमा ३१ रनको इनिङ्स खेलेर आउट भइन्। तर, पेरी र ऋचा घोषले २७ बलमा ३३ रनको साझेदारी गर्दै अन्तिम ओभरमा आफ्नो टोलीलाई जित दिलाइन्।
जितपछि बोल्दै श्रेयांकाले प्रतियोगिताका लागि आफ्नो टोलीले निकै मिहिनेत गरेको बताइन्। ‘हाम्रा समर्थकहरूले यसपटक कपमा नाम लेखाउनुपर्छ भनेका थिए र हामीले त्यसै गरेका छौँ। हामीले मिहिनेत गर्छौं भने प्रतियोगिता जित्न सक्छौँ भनेर हामीलाई देखाउनु थियो। त्यो पूरा भएको छ,’ उनले भनिन्।