काठमाडौं । हङकङ टी ट्वान्टी क्रिकेट सिरिजको उपाधि जित्न पीएनजीले नेपाललाई १ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार पहिले ब्याटिङ्ग गरेको पीएनजीले ८ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको छ ।
ओपनर टोनी उराले ६१ रनको शानदार इनिङ्स खेल्दै पीएनजीलाई राम्रो सुरुवात दिलाएका थिए । अन्य ब्याट्सम्यानले खासै गतिलो प्रर्दशन गर्न सकेनन् ।
पुछारका एली नाओले अविजित ३० रनको योगदान गरे । १० बल खेलेका उनले ३ छक्का र १ चौकाको मदतले सो रन बनाए ।
हिरी हिरीले १४, हिला भारेले १८, चाड सोपरले १३ र किप्लिन डोरिगाले १४ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालले ४३ रनमा ४ विकेट लिएर पीएनजीलाई दबाबमा राखेको थियो । आकाश चन्द र कुशल भुर्तेलले समान ३ विकेट लिएको खेलमा करन केसी र गुलसन झाले समान एक एक विकेट झारेका थिए ।
घरेलु टोली हङकङलाई पछि पार्दै नेपाल र पीएनजीले फाइनल सम्म पुगेका हुन् ।
नेपाल र हङकङ बीचको पहिलो खेल वर्षाले प्रभावित बनेपछि दुवै टिमले समान एक एक अंक बाँडेका थिए ।
नेपालले समूह चरणको खेलमा पीएनजीलाई ८५ रनले हराएको थियो । पीएनजीले भने हङकङलाई १० विकेटले हराएको थियो ।
नेपाल युवा खेलाडीलाई समावेश गर्दै हङकङ यात्रामा निस्किएको हो । यस वर्ष टी ट्वान्टी विश्वकप खेल्न लागेको नेपालले टी ट्वान्टी भ्रमण-सिरिजलाई प्राथमिकतामा राखेको छ ।