काठमाडौं । हङकङ त्रिकोणात्मक टी ट्वान्टी सिरिजको फाइनल खेलमा नेपालले टस जितेको छ ।
टिम वाङ रोड रि–क्रियसन ग्राउन्डमा पीएनजीविरुद्धको फाइनल खेलमा नेपालले टस जितेर फिल्डिङको निर्णय गरेको हो ।
घरेलु टोलीलाई पछि पार्दै दुवै नेपाल र पीएनजीले फाइनल यात्रा तय गरेका थिए ।
प्रशिक्षक मोन्टी देसाईले प्लेईङ ११ मा कुशल भुर्तेल, बिनोद भण्डारी, रोहित पौडेल, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, लोकेश बम, प्रतिस जिसी, करन केसी र आकाश चन्दलाई राखेका छन् ।
लिग चरणका शीर्ष दुई टिमले फाइनल खेल्ने तालिका रहेको थियो । नेपालले तीन अंक जोडेर शीर्ष स्थानमा रह्यो । पीएनजीले दुई अंक जोडेर दोस्रो स्थानमा रह्यो । हङकङले मात्र एक अंक जोडेर तेस्रो स्थानमा रह्यो ।
नेपाल र हङकङ बीचको पहिलो खेल वर्षाले प्रभावित बनेपछि दुवै टिमले समान एक एक अंक बाँडेका थिए ।
नेपालले समूह चरणको खेलमा पीएनजीलाई ८५ रनले हराएको थियो । पीएनजीले भने हङकङलाई १० विकेटले हराएको थियो ।
नेपाल युवा खेलाडीलाई समावेश गर्दै हङकङ यात्रामा निस्किएको हो । यस वर्ष टी ट्वान्टी विश्वकप खेल्न लागेको नेपालले टी ट्वान्टी भ्रमण÷सिरिजलाई प्राथमिकतामा राखेको छ ।