काठमाडौं । हङकङ टी ट्वान्टी सिरिजको उपाधिका लागि नेपालले पीएनजीसँग खेल्ने भएको छ ।
मंगलबार भएको खेलमा हङकङलाई १० विकेटले हराउँदै पीएनजीले नेपालसँगको भेट पक्का गरेको हो ।
मंगलबारको पहिलो खेलमा पीएनजीलाई हराउँदै नेपाल फाइनल पुगेको थियो ।
लिग चरणका शीर्ष दुई टिमले फाइनल खेल्ने तालिका रहेको थियो । नेपालले तीन अंक जोडेर शीर्ष स्थानमा रह्यो । पीएनजीले दुई अंक जोडेर दोस्रो स्थानमा रह्यो । हङकङले मात्र एक अंक जोडेर तेस्रो स्थानमा रह्यो ।
फाइनल खेल भोलि बुधबारनै हुनेछ ।
नेपाल र हङकङ बीचको पहिलो खेल वर्षाले प्रभावित बनेपछि दुवै टिमले समान एक अंक बाँडेका थिए ।
लिग चरणको अन्तिम खेलमा पीएनजीले हङकङलाई १० विकेटले हरायो ।
हङकङले प्रस्तुत गरेको १ सय २२ रनको लक्ष्य पीएनजीले १२ दशमलव ४ ओभरमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।
टोनी उराले अविजित ५१ र सेसे बाउले अविजित ६१ रनको इनिङ्स खेलेपछि पीएनजीले सहज जित दर्ता गरेको हो ।
पहिले ब्याटिङ गरेको घरेलु टोली हङकङ १८ दशमलव ३ ओभरमा १ सय २१ रनमा समेटिएको थियो ।
जिसान अलीले अविजित ५५ रन बनाउनु बाहेक अन्यको प्रर्दशन फिक्का रह्यो । हङकङका ७ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
पीएनजीका तबुआ मोर, एलेई नाओ, असद भाला, सेसे बाउले समान दुई दुई विकेट हात पारेका थिए ।
नेपाल त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेल्न हङकङमा रहेको छ । नेपालले युवा खेलाडीलाई समावेश गर्दै हङकङ यात्रा तय गरेको थियो ।