काठमाडौं । हङकङ टी ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले पीएनजीलाई १ सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनाएको छ ।
ओपनर कुशल भुर्तेलको ५९ रनको इनिङ्समा सन्दीप जोराले २६ बलमा ५६ रनको बिस्फोटक इनिङ्स खेले ।
लोकेश बलले ६ बलमा १४ रन बनाए भने विवेक यादवले ४ बलमा १९ रनको शानदार इनिङ्स खेले ।
४ बल खेलेका विवेकले ३ छक्का प्रहार गरेपछि अन्तिम ओभरमा नेपालले २१ रन जोडेको थियो ।
बिनोद भण्डारीले २७ रन बनाएको खेलमा कप्तान रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए । गुलसन झा १५ बलमा नटआउट रहे ।
पीएनजीका नार्मन बनुआ, नोसेना पोकाना र जान कारिकोले समान एक एक विकेट लिए ।
नेपाल टी ट्वान्टी क्रिकेट सिरिज खेल्न हङकङमा छ ।
नेपालले आयोजक हङकङ र पीएनजीसँग त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेल्नेछ । सिरिजको पहिलो खेलमा नेपाल र हङकङले अंक बाँडेका थिए ।
पहिलो खेल वर्षाले प्रभावित बनेपछि नेपालले अंक बाँड्न परेको हो ।