विराटनगर । विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र एपीएफले जित निकालेका छन् ।
मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ ।
जितसँगै सुदूर समुह बीमा ४ खेलमा ३ मा जित र १ मा पराजित हुँदै ६ अंकको साथ दोस्रोे स्थानमा रहेको छ ।
बागमतीले खेलेको दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । बागमतीले बाँकी दुई खेल जित हात पारे पनि समुह चरणबाटै बाहिरिनेछ । सुदुर पनि सेमिफानमा नजिक पुगेको छ । अब पुलिसले बाँकी रहेको २ खेलमा लुम्बिनी र बागमतीलाई भारि मतान्तरमा जित निकाले मात्र सुदूर प्रतियोगिताबाट बाहिरिने छ ।
टस जितेर ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १७ रनमा सिमित भयोे । बागमतीका लागि शुभ कन्साकारले ३४ बलमा ३ छक्का र ४ चौका प्रहार गरि ४१ रन बनाए । रविन जोशीले ३१ रनको योगदान दिए ।
सुदूरका प्लेयर अफ द म्याच नारायण जोशीले २ ओभर बलिङ गर्दै ९ रन दिएर ३ विकेट लिए । नरेन साउदले २ विकेट हात पारे ।
जवाफमा १ सय १८ रनको लक्ष्य पाएको सुदूरले १९ दशमलव २ बलमा ८ विकेट गुमाएर विजयी लक्ष्य पार गरेको थियो । सुदूरको जितमा नरेन भट्टले ३० रन बनाए । दिपक वोहोराले २२ रन, किरण ठगुन्नाले २१ रन र नारायण जोशीले १६ रनको योगदान दिए । बागमतीका गौतम केसीले ३ विकेट लिदाँ विपिन आचार्य र इशान पाण्डेले २–२ विकेट लिए ।
दोस्रो खेलमा एपीएफले घरेलु टोली कोशी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ ।
एपीएफसँग पाराजित भएको कोशी प्रतियोगिताबाट बाहिरिएको छ । समुह ए मा ३ खेलमा १ मा जित र २ मा पराजित कोशीले २ अंकका साथ तेस्रो स्थानमा रहेको छ । कोशीले लिगको अन्तिम खेल मंगलबार आर्मीसँग खेल्ने छ भने एपिएफले प्रतियोगितामा पहिलो जितको स्वाद दिएको छ । २ खेलमा १ मा जित र १ मा पराजित भएको एपीएफ २ अंकका साथ तालिकामा चौथो स्थानमा रहेको छ ।
टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १७ रनको योगफल तयार पारेको थियो । कोशी विकेट किपर सोनु अन्सारीले ३१ बलमा २ छक्का र ३ चौका प्रहार गरि ४३ रन बनाउँदा अंकित सुवेदीले ३२ रन र श्रवण यादवले १९ रनको योगदान दिए ।
एपीएफका प्लेयर अफ द म्याच भुवन कार्की, यज्ञमान कुमाल, अमर रोटेला र इर्साद अहमद २–२ विकेट लिए ।
जवाफमा १ सय १८ रनको लक्ष्य पछ्याएको एपीएफले १८ दशमलव ५ बलमा ६ विकेट गुमाई लक्ष्य पार गरेको थियो । एपीएफकोे जितमा पूरन विकले ३६ रन, प्रनित थापा मगरले २० र अरुण ऐरीले १५ रनको योगदान दिए । मधेशका फिर्दोस अन्सारीले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिँदा दिपेश कँडेलले १ विकेट लिए ।
मंगलबारको पहिलो खेल घरेलु टोली कोशी र आर्मी तथा दोस्रो खेल बागमती र गण्डकीबीच खेल हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिएका छन् ।