काठमाडौं । फ्रेन्डसिप कप क्रिकेटको उपाधि घरेलु टोली हङकङले जितेको छ ।
शनिबार नेपाललाई ७३ रनले पराजित गर्दै घरेलु टोलीले प्रतियोगिताको उपाधि जितेको हो ।
हङकङले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ४ ओभरमा १ सय ३९ रनमा समेटिएको छ ।
बिनोद भण्डारीले ४२, रोहित पौडेलले ३० र आरिफ शेखले ३८ रन बनाएको इनिङ्समा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालको सुरुवात भने राम्रो रह्यो । उसले ३ विकेटको क्षतीमा १ सय १७ रन बनाएको थियो । त्यसपछि नेपालले थप २२ रन जोड्न बाँकी सबै विकेट गुमाएको हो ।
सन्दीप जोरा २, गुलसन झा ८, विवेक यादव १, रासिद खान ३, प्रतिश जिसी शुन्य र आकाश चन्द २ रनमा आउट भए । सागर ढकाल शुन्य रनमा अविजित रहदाँ ओपनर कुशल भुर्तेल २ रनमा पोविलियन फर्किएका थिए ।
हङकङका अजाज खानले ४ विकेट चट्काए । इशान खान ३ तथा अतित इकबाल र नसरुल्ला राणाले समान एक एक विकेट हात पारे ।
शनिबार हङकङको मिसन रोड ग्राउन्डमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो ।
३४ रनमा २ विकेट गुमाएर दबाबमा आएको हङकङको इनिङ्सलाई अंशु रथले बबर हयातसँग मिलेर सम्हालेका थिए ।
बाबरले ४९ बलमा १ सय १० रनको शानदार इनिङ्स खेले । उनले ३ चौका र १३ छक्काको मदतले सो स्कोर खडा गरेका हुन् । अंशु रथले ३९ रन बनाए । ओपनर मार्टिन कोएत्जीले ३१ रनको योगदान गरे । अजिज खान २१ रनमा अविजित रहे ।
नेपालका आकाश चन्दले ३ तथा आरिफ शेख, प्रतिस जिसी र सारिद खानले समान एक एक विकेट हात पारे ।
नेपालले अब हङकङ र पपुवा न्युगिनीसँग त्रिकोणात्मक क्रिकेट सिरिज समेत खेल्नेछ ।
यस वर्ष टी ट्वान्टी विश्वकप क्रिकेट खेल्न लागेको नेपालले प्रतियोगिताको तयारी स्वरुप टी ट्वान्टी क्रिकेट सिरिजमा आफुलाई केन्द्रित गरेको हो ।