काठमाडौं । बाबर हयात चम्किएको खेलमा हङकङले फ्रेन्डसिप कप क्रिकेटमा नेपाललाई २ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बाबरले १ सय १० रनको बिस्फोटक इनिङ्स खेलेपछि हङकङले नेपाल समक्ष ठुलो स्कोरको लक्ष्य प्रस्तुत गरेको हो ।
शनिबार हङकङको मिसन रोड ग्राउन्डमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनायो ।
३४ रनमा २ विकेट गुमाएर दबाबमा आएको हङकङको इनिङ्सलाई अंशुले बबरसँग मिलेर सम्हालेका थिए ।
बाबरले ४९ बलमा १ सय १० रनको शानदार इनिङ्स खेले । उनले ३ चौका र १३ छक्काको मदतले सो स्कोर खडा गरेका हुन् ।
अंशु रथले ३९ रन बनाए । ओपनर मार्टिन कोएत्जीले ३१ रनको योगदान गरे । अजिज खान २१ रनमा अविजित रहे ।
नेपालका आकाश चन्दले ३ तथा आरिफ शेख, प्रतिस जिसी र सारिद खानले समान एक-एक विकेट हात पारे ।
हङकङ भ्रमणमा रहेको नेपालले शनिबार एक टी ट्वान्टी फ्रेन्डसिप कप खेल्दैछ । त्यसपछि हङकङ र पपुवा न्युगिनीसँग त्रिकोणात्मक क्रिकेट सिरिज समेत खेल्नेछ ।
यस वर्ष टी ट्वान्टी विश्वकप खेल्न लागेको नेपालले प्रतियोगिताको तयारी स्वरुप टी ट्वान्टी क्रिकेट सिरिजमा आफुलाई केन्द्रित गरेको छ ।