काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुर मैदानमा टस जिटेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो ।
ओपनर आसिफ शेखले ४७ रन बनाएको नेपालको इनिङ्समा गुलसन झाले ३४ रन बनाए । कुशल मल्लले ११ बलमा २६ रनको बिस्फोटक इनिङ्स खेले ।
कप्तान रोहित पौडेलले २५ रन बनाउँदा ओपनर कुशल भुर्तेलले २० रनको योगदान दिए ।
दीपेन्द्र सिंह ऐरी १ रनमा आउट हुदाँ करन केसी ९ र आरिफ शेख शुन्य रनमा पोविलियन फर्किए ।
सोमपाल कामी र प्रतिस जिसी समान ६ रनमा अविजित रहे ।
डच टिमका माइकल लेविट, फ्रेड क्लासेन, टिम वान डेर र साइब्रान्ड एनगेलब्रेक्टले समान २–२ विकेट हात पारे ।
सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल २ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो ।
विश्वकप क्रिकेटको तयारी स्वरुप नेपालले टी ट्वान्टी त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।
विश्वकप लिग टू अन्तर्गतका खेल खेल्न नेपाल आएको नेदरल्याण्ड्स र नामिबियालाई समावेश गरेर नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो ।