काठमाडौं । एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल 'ए' र क्यानडा भिड्दैछन् ।
बिहीबार मुलपानी मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुने तालिका छ ।
तीन म्याचको सिरिज १–१ को अवस्थामा छ ।
नेपालले पहिलो पटक राष्ट्रिय टिमको ब्याकअपको रुपमा नेपाल 'ए' तयार गरेको छ । नेपाल ए तयार गरेर क्यानडासँग तीन म्याचको एकदिवसीय सिरिज आयोजना गरिएको हो ।
क्यानडाले यसअघि राष्ट्रिय क्रिकेट टिमसँग तीन म्याचको एकदिवसीय सिरिज खेलेको थियो । नेपालको सिनियर टिमले सो सिरिज क्लिनसिप गरेको थियो ।
नेपाल एसँगको पहिलो खेल क्यानडाले ४ विकेटले जितेको थियो । सिरिजको दोस्रो खेलमा नेपालले २ विकेटको जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको हो । सिरिजको अन्तिम खेल जित्ने टिमले उपाधि हात पार्नेछ ।
नेपाल 'ए'बाट बासिर अहमद चम्किएका छन् । उनीनै निर्णायक सिरिजको मुख्य आकर्षण हुनेछन् । पहिलो खेलमा ५० रनको अर्धशतकिय इनिङ्स खेलेका उनले दोस्रो खेलमा ५२ रन बनाएका थिए ।