काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आईतबार प्रतिस्पर्धा हुदैछ । अहमदाबादमा हुने फाइनल खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।
प्रतियोगिताको फाइनलमा घरेलु टोली भारत र सर्वाधिक सफल टिम अष्ट्रेलिया आमने सामने हुदैछन् । भारतले न्युजिल्याण्ड र अष्ट्रेलियाले साउथ अफ्रिकालाई हराउँदै फाइनल यात्रा तय गरेका हुन् ।
फाइनल अघिको मिडियासँगको भेटघाटमा दुवै टिमका कप्तानले फाइनलका लागि आफुहरु तयारी अवस्थामा रहेको बताए ।
सन् २००३ को फाइनलमा दुवै टिम आमने सामने भएका थिए । सो खेल अष्ट्रेलियाले एकतर्फी रुपमा जितेको थियो । यस पटक भारतीय टिम २० वर्ष पुरानो हारको बदला लिने योजनामा छ । घरेलु मैदानमा उत्कृष्ट फर्ममा देखिएको भारतका लागि अवसर पनि छ । लगातार १० खेलमा जित निकाल्न सफल भारत फाइनलको उपाधि भिडन्त आफ्नो पक्षमा पार्न चाहन्छ ।
भारतीय कप्तान रोहित शर्माले कप्तान बन्ने बित्तिकै एकदिवसीय क्रिकेटका लागि खेलाडी पहिचान सुरु गरेको बताए । उनले खेलाडी पहिचान गरेर सोही अनुसार जिम्मेवारी दिएको बताउँदै प्राप्त नतिजा त्यसैको कारण रहेको उल्लेख गरे ।
‘खेल निकै रोमाञ्चक हुनेछ । दुवै टिम फाइनलका हकदार हुन् । हामीलाई थाहा छ, अष्ट्रेलिया के गर्न सक्छ भनेर । तर हाम्रो नजर आफ्नै प्रर्दशनमा छ । हामीलाई विपक्षी टिममा ध्यान दिन जरुरी छैन । हामी हाम्रो योजनामा केन्द्रित छौं ।’ रोहितले भने ।
अष्ट्रेलियन कप्तान पेट कमिन्सले भारतीय ब्याट्सम्यान रोहित शर्मा र विराट कोहलीलाई आउट गर्ने विशेष योजना आफुहरुसँग रहेको बताएका थिए । कमिन्सले भारतीय बलर मोहमद सामीबाट बच्न जरुरी रहेको समेत उल्लेख गरेका थिए ।
‘ठुलो खेलमा हाम्रा फरक फरक खेलाडी फरक फरक समयमा उत्रने गर्छन् । हाम्रो टिममा चोटको समस्या छैन । खेलाडीसँग ठुलो म्याच खेल्ने र दबाब झेल्ने अनुभव छ ।’ कमिन्सले भने ।
‘यदी हामी हामीले यसलाई हासिल गर्न सक्यौं भने यो ठुलो जित हुनेछ । यदी प्रतिभाशाली मान्छेको बीचबाट यस ट्रफीलाई उचाल्न पाएको खण्डमा धेरै खुसी हुनेछ ।’ उनले थपे ।