काठमाडौं । महिला टी ट्वान्टी चारदेशीय सिरिजमा नेपालले जापानमाथि शानदार जित निकालेको छ ।
शनिबार समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले हराएको हो ।
नेपालले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याएको जापान ४६ रनमा अलआउट भयो । मेग ओगावाले १७ र सिका सुमीले १३ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालकी संगिता राईले एक्लै ५ विकेट लिईन् । पुजा महतो र अश्मिना कर्मचार्यको नाममा समान २ विकेट रह्यो ।
सुरुआती ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतीमा १ सय १३ रन बनाएको थियो । रुबिना क्षेत्रीको ३८ रनको शानदार इनिङ्मा कप्तान इन्दु वर्माले २७ रन बनाएकी थिईन् ।
काजल श्रेष्ठ १५ रनमा नटआउट रहिन् । पुजा महतोले १३ रन बनाईन् । सिता राना मगर ९ रनको योगदान गरिन । अश्मिना कर्मचार्य १ रनमा अविजित रहिन् ।
जापानकी ऐलेना कुसुदा नायरनले २ विकेट लिईन् । मेग अगावा र अयुमी फजिकावाले समान एक एक विकेट हात पारिन् ।
अघिल्लो दुई खेलमा पराजित नेपाल उपाधि होडबाट बाहिरिसकेको छ । नेपालले सिरिजको तेस्रो स्थानका लागि जापानसँगै प्रतिस्पर्धा गर्नेछ ।
सिरिजको उपाधिका लागि तान्जानिया र आयोजक हङकङबीच प्रतिस्पर्धा हुनेछ ।