काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा बुधबार भारत र न्युजिल्याण्ड खेल्दैछन् ।
भारतको वानखडे स्टेडियममा हुने खेल दिउँसो सवा २ बजे सुरु हुनेछ ।
प्रतियोगिताको एक मात्र अपराजित टिम रहेको भारतले चौथों स्थानमा रहदै सेमिफाइनल पुगेर न्युजिल्याण्डसँग फाइनल प्रवेशका लागि खेल्न लागेको हो ।
दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र साउथ अफ्रिका भिड्नेछन् ।
सन् २०१९ को विश्वकपमा म्यानचेस्टरमा न्युजिल्याण्डसँगै भारत पराजित बनेको थियो । यस्तै, न्युजिल्याण्डले सन् २०२१ को आईसीसी वल्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा समेत भारतीय टिमलाई पराजित गरेको थियो ।
समूह चरणको प्रर्दशनले भारतले यस विश्वकपको मुख्य दाबेदारको रुपमा हेरिएको छ । तर पछिल्ला ठुला भिडन्तमा न्युजिल्याण्डसँगको पराजयले भारतमाथि दबाब भने रहनेछ ।
भारतले २८ वर्षअघि वानखडे स्टेडियममै एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।
सेमिफाइनल खेलमा सबैको नजर विराट कोहोलीमाथि हुनेछ । उनी वान डे क्रिकेटमा सचिन तेन्दुलकरको ४९ औं शतक बराबरी गरिसकेका छन् । न्युजिल्याण्डविरुद्ध उनले बराबरीको कीर्तिमानबाट अघि बढेर सो कीर्तिमानलाई तोड्न सक्नेछन् ।
विराटसँगै कप्तान रोहित शर्मा उत्कृष्ट फर्ममा देखिन्छन् । सुभमन गिल, केएल राहुल र श्रेयश अय्यरले पछिल्लो खेलमा गरेको प्रर्दशनले भारतीय ब्याटिङ लाईन बलियोनै देखिन्छ । अझ बलिङमा जसप्रीत बुमराहसँगै मोहम्मद सामी र मोहम्मद सिराजको उत्कृष्ट फर्मले भारतीय टिमलाई विश्वकपमा बलियो टिमको रुपमा प्रस्तुत गरेको छ । तीन बलर मिलेर यस विश्वकपमा ४५ विकेट लगिसकेका छन् ।
यता न्युजिल्याण्डको टिममा कप्तान केन विलियम्स फर्किएसँगै रचिन रबिन्द्रले ओपनिङमा ब्याटिङ गरिरहेका छन् । डेरिल मिचेलको उत्कृष्ट फर्मले भारतीय टिमलाई दुख दिन सक्नेछ । न्युजिल्याण्डसँग ट्रेन्ट बोल्ट, लाकी फग्युर्सन र टिम साउथी जस्ता उत्कृष्ट बलर छन्, जसले भारतीय टिमलाई निराश बनाउन सक्नेछन् ।