काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङमाथि लागेको अविश्वास प्रस्तावमाथि छिनोफानो भोलि बिहीबार हुने भएको छ ।
एन्फाले अविश्वासको प्रस्तावमाथि मतदानका लागि भोलि हेटौडामा विशेष साधारण सभा बैठक बोलाएको छ । भोलिनै अविश्वासको प्रस्तावमाथि मतदान भएर निर्णय आउने प्रवक्त सुरेश शाहले बताएका छन् ।
एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्तीको माग सहित अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अध्यक्ष नेम्वाङले आफुविरुद्धको प्रस्ताव मात्र साधारण सभामा लगेर फेस गर्ने निर्णय गराएका छन् ।
उनले महासचिवको नियुक्ति र बर्खास्तीको अधिकार विधानले कार्यसमितिलाई दिएको भन्दै विशेष साधारण सभामा लैजान विधान सम्मत नहुने तर्क अघि सारेका छन् ।
सोही अनुसार अध्यक्ष नेम्वाङमाथि लागेको अविश्वासको प्रस्तावमाथि बिहीबार मतदान हुने कार्यक्रम रहेको छ ।
एन्फामा जिल्ला, क्लब र संघ गरि १ सय ५ सदस्यहरु छन् । तर जम्मा ८७ जनालाई मात्र मतको अधिकार रहेको छ ।
एन्फा विधान अनुसार अध्यक्ष सहित पदाधिकारी बर्खास्तीका लागि दुई तिहाई मत आवश्यक पर्छ । एन्फाको मतभार अनुसार नेम्वाङ बर्खास्तीका लागि ५८ जनाको मत संस्थापन इतरलाई आवश्यक छ ।
फुटबल चलाउन नसकेको विभिन्न १९ आरोप सहित एन्फाका ४९ सदस्यले नेम्वाङमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अध्यक्षविरुद्ध दुई तिहाई पुर्याउन संस्थापन इतरलाई अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सदस्य सहित थप ९ मत आवश्यक छ ।
संस्थापन पक्ष अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सदस्यलाई आफुतिर तानेर बहुमत सिद्ध गर्ने प्रयासमा रहेको छ ।
फुटबल संघको इतिहासमा नेम्वाङले पहिलो पटक अविश्वासको प्रस्ताव फेस गर्न लागेका छन् ।