काठमाडौं । कप्तान देव खनालको शतकमा नेपालले एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा यूएईलाई २ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ८० रन बनायो ।
नेपालको इनिङ्समा कप्तान देवले शतक प्रहार गरे । ओपनर दीपक बोहोरालाई ५ र आकाश त्रिपाठीलाई शुन्य रनमा गुमाएर दबाबमा आएको नेपालको इनिङ्स देव र अर्जुन कुमालले सम्हालेका थिए ।
१४ रनमा दुई विकेट गुमाएको नेपालको इनिङ्सलाई अघि बढाउँदै देव र अर्जुनले तेस्रो विकेटका लागि १ सय २५ रनको साझेदारी गरेका थिए । अर्जुनले ५५ रन बनाए ।
नेपालका लागि विकेट किपर ब्याट्सम्यान उत्तम थापा मगरले ५७ रनको अर्धसतकीय इनिङ्स खेले ।
दिपक प्रसाद डुम्रे २८ रन बनाए । दीपेश कँडेल १० रनमा अविजित रहे । विशाल बिक्रम केसी ३ र हेमन्त धामी ७ रन बनाएर आउट भए । आकाश चन्द १ रनमा नटआउट रहे ।
यूएईका हरित सेठ्ठीले ५ विकेट लिए । आयान अफजल खानको नाममा २ विकेट रह्यो । अमर बादामीले १ विकेट चट्काए ।
एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।
नेपाल अपराजित रहदै फाइलन यात्रा तय गरेको हो । फाइनल पुगेको नेपाल यू–१९ एसिया कपमा छनोट भैसकेको छ ।