काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा यूएईले हङकङलाई ६ विकेटले हराएको छ ।
आईतबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई हराएर यूएईले पहिलो जित दर्ता गरेको हो ।
नेपाल त्रिकोणात्मक सिरिजको फाइनलमा प्रवेश गरिसकेको छ । यूएई र हङकङ मध्य एक टिमले फाइनलमा स्थान बनाउनेछ ।
हङकङले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य यूएईले मात्र १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
मुहम्मद वसीमले ४० रन बनाएको इनिङ्समा खालिद शाहले ३७ रनको योगदान गरे । वृत्ति अरविन्दले २९, आसिफ खानले १२ रन बनाए । अलिशान सराफु २० तथा बासिल हमिद ११ रनमा अविजित रहे ।
हङकङका यासिम मुर्ताजाले २ तथा इसान खान र निजाकत खानले समान एक विकेट हात पारे ।
सुरुआती ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।
बाबर हायातले ६६ रन बनाएको इनिङ्समा इजाज खानले अविजित ४८ रन बनाएका थिए । अंशु रथले १४ रन बनाएका थिए । अन्य खेलाडीको प्रर्दशन उल्लेख्य रहन सकेको थिएन ।
यूएईका जाहुर खानले ३ तथा निलांश केसवानीले २ विकेट लिएका थिए ।
यूएईले भोलि सोमबार नेपालसँग लिग चरणको आफ्नो तेस्रो खेलमा प्रतिस्पर्धा गर्नेछ । नेपाललाई हराउँदै यूएईलाई एक खेल अगावै फाइनल पुग्ने अवसर रहेको छ ।
समूह चरणमा शीर्ष स्थानमा रहेको नेपालको तीन खेलबाट ६ अंक भएको छ । यूएईको २ खेलबाट २ अंक भएको छ । हङकङ तीन खेलबाट अंक विहीन हुँदै तालिकाको पुछारमा छ ।