काठमाडौं । कुशल मल्लको बिस्फोटक ब्याटिङले नेपालले हङकङ समक्ष २ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनायो ।
नेपालका लागि कुशल मल्लले ९२ रनको योगदान गरे । उनले ४१ बलमा ३ चौका र ९ छक्काको मदतले ९२ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।
ओपनर कुशल भुर्तेललाई २ र आसिफ शेखलाई २० रनमा गुमाएको नेपालका लागि सोमपाल कामीले ८ र रोहित पौडेलले ११ रन बनाएका थिए ।
सन्दीप जोरा र गुल्सन झा समान १ रनमा नटआउट रहे ।
हङकङका हारुन अर्शद र मोहम्मद गजनफरले समान दुई विकेट लिए । आयुश शुक्ला र अजाज खानले समान एक विकेट झारे ।
त्रिकोणात्मक सिरिजमा नेपाल लगातार तेस्रो जित दर्ता गर्ने लक्ष्यमा रहेको छ । नेपाल हङकङलाई हराउँदै सिरिजको फाइनलमा स्थान पक्का गर्ने लक्ष्यमा रहेको छ ।
नेपालले सिरिजमा सुरुआती दुवै खेलमा जित निकाल्दै ४ अंक जोडेर शीर्ष स्थानमा छ । हङकङ र यूएई अंक विहीन छन् ।