काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिज हङकङविरुद्ध नेपालले शानदार सुरुआत गरेको छ । मुलपानी क्रिकेट मैदानमा हङकङलाई नेपालले सुरुआतमै दबाबमा राख्न सफल भएको छ ।
टस जितेर फिल्डिङ गर्ने कप्तान रोहित पौडेलको निर्णयलाई सही सावित गर्दै करन केसीले सुरुआतमै तीन विकेट लिए । अर्को विकेट सोमपाल कामी र कुशल मल्लले लिए ।
पहिलो बलमै निजाकत खानलाई बोल्ड गरेका करनले अंशी रथलाई आसिफ शेखको हातबाट क्याच आउट गराएका थिए ।
सोमपालले मार्टिन कोएत्जीलाई पोविलियन फर्काएपछि हङकङमाथि थप दबाब परेको थियो ।
करनले ब्यक्तिगत तेस्रो विकेटको रुपमा बाबर हायातलाई आउट गरे भने कुशल मल्लले अजिज खानलाई करन केसीको हातबाट क्याच आउट गरेका छन् ।
हङकङले १० ओभरको समाप्तिमा ५ विकेट गुमाएर ३९ रन बनाएको छ ।
पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले पराजित गरेर नेपालले शानदार सुरुआत गरेको छ । कप्तान रोहित पौडेलको अर्धशतकीय इनिङ्समा नेपालले यूएईलाई हराएको हो ।
टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो ।
सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन् । सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।