काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजमा यूएईले नेपाललाई १ सय ४१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाएको हो ।
निकै खराब सुरुआत गरेको यूएईका लागि बासिल हामिदले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई उकासेका थिए ।
अल नासिरले ३२, कप्तान मुहम्मद वसीमले १७ तथा आसिफ खानले १५ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
यूएईलाई सामान्य रनमा समेट्न नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए । गुल्सन झाले २ तथा अबिनाश बोहरा र सोमपाल कामीले समान एक एक विकेट हात पारे ।
टी ट्वान्टी विश्वकप छनोट खेल्न लागेको नेपालले तयारी स्वरुप सिरिजको आयोजना गरेको हो । सिरिजमा नेपाल, युएई र हङकङ समावेश छन् ।