एजेन्सी । विश्वकप फुटबलमा आज हुने अन्तिम खेलमा साबिकको बिजेता जर्मनी स्विडेन खेल्दै छन् । राति ११: ४५ बजेपछि हुने खेलमा दुवै टोली ३ अंक जोड्ने लक्ष्यमा हुनेछ ।
जर्मनी पहिलो खेलमा परजित भएको थियो भने स्विडेनले जित निकालेको थियो । आज हुने खेलमा जर्मनी पहिलो जितको खोजीमा हुनेछ । मेक्सिकोसँग पराजित जर्मनी स्विडेनलाई हराएर नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ । पहिलो खेलमा दक्षिण कोरियालाई हराएको स्विडेन लगातार दुई जित निकाल्दै अन्तिम १६ मा पुग्न चाहन्छ ।
जर्मनी र स्विडेनबीचको खेलमा चर्चामा आउन सक्ने छन्, जर्मनीका मार्कुस रिउस र स्विडेनका एन्ड्रियास ग्रान्कुभिस्ट । रिउस फरवार्ड हुन् भने ग्रान्कुभिस्ट डिफेन्डर हुन् ।
प्लयेर्स टु वाच :
मार्कुस रिउस (जर्मनी)
पहिलो खेलमा मेक्सिकोसँग १–० गोल अन्तरले पराजित भएपछि जर्मन टोलीमा मार्कुस रिउसको माग बढेको छ । पहिलो खेलमा दोस्रो हाफमा मैदान छिरेर आफ्नो खेलको छाप बनाउन सफल रिउस स्विडेनबिरुद्ध जर्मनीका हतियार बन्ने छन् ।
जर्मन लिग बोरुसिया डर्टमण्डका स्ट्राइकर रिउस अग्रपंक्तिको जुनसुकै स्थानबाट खेल्न सक्ने खुबी भएका खेलाडी हुन् । २९ वर्षिय रिउसले यो सिजन ११ खेलमा ७ गोल गरेका थिए । विश्वकप छनोटमा ६ खेल खेल्दै ५ गोल गरेका थिए ।
मध्य भागमा बल पकड बनाउन र पास खेल्नमा माहिर रिउस गोल गर्न उत्तिकै सफल खेलाडी हुन् । त्यसैले आज रिउस स्विडेनको लागि टाउको दुखाईको विषय बन्न सक्ने छन् ।
एन्ड्रियास ग्रान्कुभिस्ट ( स्विडेन )
विश्व फुटबलमा जर्मनी निकै आक्रमक शैलीमा फुटबल खेल्ने गर्छन् । जर्मनीका फरवार्डहरु निकै आक्रामक हुने गर्छन्, खेलमा ।
आज स्विडेनले तीनै आक्रामक जर्मनीविरुद्ध खेल्दै छ । र, जर्मनीका उत्कृष्ट फरवार्डलाई रोक्न लागी पर्नेछन् स्विडेनका डिफेन्डर एन्ड्रियास ग्रान्कुभिस्ट । स्विडेनले जर्मनीविरुद्ध यि ३३ बर्षीय भेट्रान ग्रान्कुभिस्टलाई खम्बाको रुपमा उभ्याउने छ ।
ग्रान्कुभिस्टसँग जर्मनीका स्टार स्ट्राइकर थोमस मुलर, मार्कुस रिउस जस्ता खेलाडीलाई रोक्न सक्ने क्षमता छ । पहिलो खेलमा दक्षिण कोरियालाई हराउने क्रममा ग्रान्कुभिस्टले महत्वपूर्ण भूमिका खेलेका थिए । जर्मनीविरुद्ध पनि ग्रान्कुभिस्टबाट त्यहीँ आसा गर्न सकिन्छ ।
अग्ला कदका ग्रान्कुभिस्ट रसियन लिगबाट फुटबल खेल्ने गर्छन् । एफके क्रस्नोडरका लागि खेल्ने उनले रसियन प्रिमियर लिगमा २९ खेलमा एक गोल समेत गरेका छन् । विश्वकप छनोटमा १२ खेल खेलेका उनले ३ गोल गरेका थिए ।