काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले पहिलो जित दर्ता गरेको छ ।
सोमबार लखनउमा भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराएको हो ।
श्रीलंकाले दिएको २ सय १० रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ३५ दशमलव २ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
जोश इग्लिसको ५८ रनको इनिङ्समा मिचेल मार्सले ५२ रनको योगदान गरे । मार्नस लाबुशेनले ४०, ग्लेन म्यासवेल र मार्कोस स्टोनिसले अविजित क्रमश ३१ र २० रनको योगदान गरे ।
श्रीलंकाका दिलशान मदुशंकाले सर्वाधिक ३ विकेट लिए । डुनिथ वेललेजले एक विकेट हात पारे ।
सुरुआती ब्याटिङ गरेको श्रीलंका ४३ दशमलव ३ ओभरमा २ सय ९ रनमा समेटिएको थियो ।
कुशल परेराले सर्वाधिक ७८ रन बनाएको इनिङ्समा पथुम निसांकाले ६१ रन बटुलेका थिए । चरित असलांकाले २५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
अष्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक ४ तथा मिचेल स्टार्स र पाट कुमिन्सले समान २ विकेट हात पारे । ग्लेन म्याक्सवेलले १ विकेट झारे ।
अष्ट्रेलियाले तेस्रो खेलमा पहिलो जित दर्ता गरेको छ । उसले ३ खेलबाट २ अंक जोडेको छ । श्रीलंकाले हारको श्रृङ्खलामा ह्याट्रिक गरेको छ ।