काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपालले खेल्ने त्रिकोणात्मक सिरिजबाट आफ्नो नाम फिर्ता लिएका छन् । नेपालले कात्तिक १ गतेदेखि १० गतेसम्म काठमाडौंको मुलपानीमा त्रिकोणात्मक सिरिज खेल्ने तयारी गरिरहदाँ सन्दीपले नेपाली टिमबाट नाम फिर्ता लिने घोषणा गरेका हुन् ।
‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु । र मलाई लागेको छ कि म आफैलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता छ । र मैले यो समय परिवारसँग बिताउन आवश्यक ठानेको छु ।’ सन्दीपले भनेका छन् ।
नाबालिका बलात्कारको आरोपमा अदालती मुद्धा प्रक्रियाबाट गुज्रिरहेका सन्दीप पछिल्लो समय मानसिक रुपमा तनावमा देखिन्छन् । उनले राष्ट्रिय टिमबाट समेत आफ्नो उत्कृष्ट दिन सकिरहेका छैनन् । अदालती लम्बेतान प्रकृयाले मुद्धाको छिटो किनारा नलाग्ला सन्दीपले आगामी खेल यात्रा अनिश्चित देखिन्छ ।
सन्दीपले सोही कारण राष्ट्रिय क्रिकेट टिमको नागपुर भ्रमण समेत स्थगित गरेका थिए । क्यान पदाधिकारीको आग्रहमा एसियन गेम्स खेल्न गएका सन्दीप त्यसपछिको भारतमा भैरहेको विशेष प्रशिक्षणमा भने सहभागी छैनन् ।
क्यानले टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप कात्तिक १ गतेदेखि यूएई र हङकङ सहित त्रिकोणात्मक क्रिकेट सिरिज गर्दैछ । पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजको फाइनल खेल कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने कार्यक्रम रहेको छ ।