काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा साउथ अफ्रिकाले अष्ट्रेलियालाई १ सय ३४ रनले हराएको छ । लखनउमा भएको खेलमा साउथ अफ्रिकाले अष्ट्रेलियालाई जितका लागि ३ सय १२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रएको अष्ट्रेलिया १ सय ७७ रनमा अलआउट भएको थियो ।
विश्वकपमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा अफ्रिकी टिमले श्रीलंकालाई १ सय २ रनले हराएको थियो । अर्कोतर्फ अष्ट्रेलियाको यो दोस्रो पराजय हो । अष्ट्रेलिया पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित बनेको थियो । विश्वकपको इतिहासमा रनको हिसाबले अष्ट्रेलियाको यो सबैभन्दा ठुलो हार हो ।
लक्ष्य पछ्याएको अष्ट्रेलियाले सुरुआत निकै खराब रह्यो । उसले प्लेअफमा ३ विकेट गुमाएको थियो । पहिला मिचेल मार्सलाई मार्को जानसेनले टेम्बा बावुमाको हातबाट क्याच आउट गराएका थिए । त्यसपछि डेभिड वार्नर समेत १३ रनमा पोविलियन फर्किएका थिए । स्टिभ स्मिथ समेत १९ रन बनाएर कागिसो रबाडाको बलमा एलबीडब्लू आउट भएका थिए ।
अष्ट्रेलियाको विकेट पतन भने रोकिएन । जोश इङ्लिस र मार्कस स्टोइनिसलाई कगिसो रबाडाले आउट गरेका थिए । ७० रनमा ६ विकेट गुमाएको अष्ट्रेलियालाई मार्नस लाबुसेन र मिचेल स्टार्कले मिलेर ६९ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई १ सय ५० रनको नजिक पुर्याएका थिए ।
मार्को जानसनले मिचेल स्टार्कलाई आउट गरेर यो साझेदारी तोडेका थिए । स्टार्कले ३ चौकाको मदतले ५१ बलमा २७ रन बनाएका थिए । स्टार्कपछि मार्नस लाबुसेन समेत महाराजको बलमा आउट भएका थिए । त्यसपछि अफ्रिकी टिमको जित सहज बनेको थियो । अष्ट्रेलियाका लाबुसेनले सर्वाधिक ४६ रन बनाए । साउथ अफ्रिकाका रबाडाले तीन विकेट लिएका थिए । जोनसन, तबरेज र महाराजले समान दुई दुई विकेट लिएका थिए ।
पहिला ब्याटिङ गरेको अफ्रिकी टिमले ७ विकेटको क्षतीमा ३ सय ११ रन बनाएको थियो । क्विन्टन डि ककले १ सय ६ बलमा १ सय ९ रनको शतकीय इनिङ्स खेलेका थिए । डि ककको यो विश्वकपमा लगातार दोस्रो शतक हो । मार्को जानसनले ४४ बलमा ५६ रन बनाए ।
अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले समान दुई दुई विकेट लिए ।