काठमाडौं । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले शानदार सुरुआत गरेको छ ।
कप्तान देव खनालको शानदार शतकमा नेपालले प्रतियोगिताको पहिलो खेलमा इरानलाई २ सय ७४ रनले पराजित गरेको हो ।
नेपालले प्रस्तुत गरेको ३ सय ५४ रनको बिशाल लक्ष्य पछ्याएको इरान ३० दशमलव ५ ओभरमा ७९ रनमा अलआउट भयो ।
अमिर खोरसन्डले बनाएको ३७ रन टोलीको सर्वाधिक स्कोर रह्यो । कृपाण इब्राहिमिपुर १० रनमा आउट भए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका दिपेश कँडेल र सुबास भण्डारीले समान ३ विकेट लिए । हेमन्त धामी र आकाश चन्दले समान २ विकेट चट्काए ।
सुरुआती ब्याटिङ गरेको नेपालले ४० दशमलव १ ओभरमा अलआउट हुँदै ३ सय ५३ रन बनाएको थियो ।
कप्तान खनालले ६० बलमा शतक प्रहार गर्दै नेपाललाई शानदार सुरुआत दिलाएका थिए । दिपक प्रसाद डुम्रेले ६९ रन बनाएको इनिङ्समा ओपनर दिपक बोहराले ६५ रन बनाए । दिपेश कँडेलले २९, हेमन्त धामीले २३ तथा सुबास भण्डारीले १८ रन बनाएका थिए ।
इरानका सलमान नियाजमन्द र दादरहमान रायसीले समान ३ विकेट लिए । जैद रायसी र समान शेखीले समान दुई विकेट हात पारे ।
समूह एमा रहेको नेपालले अब बहराइन र साउदी अरबसँग खेल्नेछ । नेपाल प्रतियोगिताको विजेता बन्दै एसिया कपमा छनोट हुने लक्ष्यमा रहेको छ ।