काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा न्युजिल्याण्डले लगातार दोस्रो जित निकालेको छ । आईतबार भएको खेलमा न्युजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हराएको हो ।
न्युजिल्याण्डले प्रस्तुत गरेको ३ सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४६ दशमलव ३ ओभरमा २ सय २३ रनमा अलआउट भयो ।
नेदरल्याण्ड्सका ब्याटिङ लाईनलाई ध्वस्त बनाउने क्रममा मिचेर सेन्टनरले ५ विकेट लिए । उनी विश्वकपको एकै खेलमा ५ विकेट लिने न्युजिल्याण्डका पहिलो स्पिनर बने ।
नेदरल्याण्ड्सका कालिन एकरमेनले बनाएको ६९ रन टोलीको सर्वाधिक स्कोर रह्यो । स्काट एडवर्ड्सले ३० रन बनाएको इनिङ्समा साइब्रान्ड एनगेलब्रेक्टले २९ रन बनाए । तेजा निदामानुरु २१, बास डी लिड १८, म्याक्स ओडाड १६, बिक्रमजित सिंह १२ र आर्यन दत्त ११ रनमा आउट भए ।
न्युजिल्याण्डका मिचेल सेन्टनरले सर्वाधिक ५ विकेट लिए । माट हेनरीले ३ तथा रचिन रवीन्द्रले १ विकेट हात पारिन् ।
सुरुआती ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३ सय २२ रन बनायो ।
विल योङ्गले ७० रन बनाएको इनिङ्समा टम लाथले ५३ र रचिन रविन्द्रले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । डेरिन मिशेलले ४८ रन बनाएको इनिङ्समा मिचेल सेन्टनरले अविजित ३६, डेवोन कान्वेले ३२ रन बनाए ।
नेदरल्याण्ड्सका आर्यन दत्त, पाउल वेन मिकेरेन, रुलोफ वान डेर मेरवेले समान २ तथा बास डी लीडेले एक विकेट हात पारे ।
न्युजिल्याण्डले लगातार दुई खेलमा जित निकाल्दै ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेदरल्याण्ड्स लगातार दोस्रो खेलमा पराजित बनेको हो । उसलाई पहिलो खेलमा पाकिस्तानले हराएको थियो ।