काठमाडौं । एसीसी यू–१९ प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टिमको बिदाई गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आईतबार एक कार्यक्रमको आयोजना गरेर युवा क्रिकेट टिमको बिदाई गरेको हो ।
नेपाली टिम सोमबार मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
नेपाली युवा क्रिकेट टिमलाई राखेपका निमित्त सदस्य सचिव सम्राट कुसारी सहित क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का सहितले बिदाई गरेका थिए ।
नेपाली टिमलाई शुभकामना दिदै निमित्त सदस्य सचिव कुसारीले क्रिकेटले पछिल्लो समय राष्ट्रिय, अन्तराष्ट्रिय जगतमा प्राप्त गरेको सफलता र लोकप्रियताको चर्चा गर्दै क्रिकेटको थप विकासमा सरकार प्रतिबद्ध रहेको बताए ।
उनले नेपाली युवा क्रिकेट टिम उपाधि सहित मलेसियाबाट फर्कने विश्वास ब्यक्त गरे ।
क्यानले देव खनालको नेतृत्वमा एसीसी यू–१९ खेल्ने क्रिकेट टिम तयार गरेको छ । टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा, दिपक बोहरा, उत्तम थापा मगर, दिपक डुम्री, दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुभास भण्डारी, बिशाल केसी र मिलान बोहरा छन् ।
प्रतियोगितामा नेपाल समूह एमा रहेको छ भने नेपालले समूह चरणमा बहराईन, साउदी अरब र इरानसँग खेल्नेछ । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टिम यू–१९ एसिया कपमा छनोट हुनेछ ।