पोखरा । दक्षिण एसिया फुटबलका महारथी श्याम थापाले पोखरामा रहेको सहारा फुटबल एकेडेमी अवलोकन गरेका छन् ।
सहारा क्लब पोखराद्वारा दोबिल्लामा सञ्चालित एकेडेमीको आइतबार अवलोकन गर्दै थापाले त्यहाँ आश्रित बालकहरुलाई राष्ट्रिय फुटबल खेलाडी बन्नुपर्ने भन्दै उत्प्रेरणा दिए ।
साथै उनले आहा रारा पोखरा गोल्ड कप प्रतियोगितामा एउटा सशक्त टिम सहभागी गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।
एकेडेमी व्यवस्थापन उपसमिति संयोजक तथा सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै एकेडेमीको उद्देश्यमाथि प्रकाश पारे ।
कार्यक्रममा क्लब अध्यक्ष केशवराज बराल र क्लबका मानार्थ सदस्य महेश गुरुङले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन क्लबका सचिब टंकप्रसाद पौडेलले गरेका थिए ।
फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील मोफसलको सबैभन्दा चर्चित सहारा क्लब पोखराले एकेडेमीमा हाल चौंथो ब्याचका विद्यार्थी भर्ना लिइरहेको छ । उनीहरुलाई क्लबले फुटबल सिकाउनुका साथै निःशुल्क आवासीय सुविधा र शिक्षादीक्षा प्रदान गर्दै आएको क्लब अध्यक्ष बरालले बताए ।