काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोटको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
नेपालले विश्वकप छनोटको राउण्ड एकमा असोज २५ गते लावसविरुद्ध दशरथ रंगशालामा खेल्दैछ ।
एन्फाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर तयारी अन्तिम चरणमा पुगेको र खेलको प्रत्यक्ष प्रसारणको टुङ्गो केही दिनमा लाग्ने जनाएको हो ।
एन्फाले खेलको कमर्सियल र मिडिया अधिकार सिंगापुरस्थित स्पोटफाइफलाई प्रदान गरिसकेको छ । खेलको टिकट दर समेत एन्फाले निर्धारित गरिसकेको छ ।
आफैले व्यवस्थापन गर्ने गरि टिकटको साधारण पारापिटको ३ सय भिआईपी पारापिटको ५ सय रुपैयाँ टिकट दर कायम गरिएको छ ।
प्रतियोगिता संयोजक तथा एन्फा उपाध्यक्ष दिपक खतिवडाले लावसको टिम अक्टोबर ९ मा नेपाल आईपुग्ने र प्रशिक्षणको लागि च्यासल मैदानको ब्यवस्था गरिएको जानकारी दिए । उनले प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४ सय रुपैयाँ रहेको बताए ।
प्रतियोगिताको तयारीका लागि मुख्य प्रशिक्षक भिसेन्जो अल्बटो एनेसको नेतृत्वमा २५ सदस्यीय नेपाली टिम बन्द प्रशिक्षणमा रहेको छ ।