काठमाडौं । आफुमाथि लागेको अविश्वासको प्रस्ताव एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ्गले एक्लै फेस गर्ने भएका छन् ।
अविश्वासको प्रस्तावमाथि छिनोफानो गर्न नेम्वाङले कात्तिक २३ गते मकवानपुरकाे हेटाैडामा विशेष साधारण सभाको बैठक बोलाएका छन् ।
उनले किरण राईको बर्खास्तीको प्रस्ताव विधान अनुसार पेश गर्न नमिल्ने भन्दै विशेष साधारण सभामा महासचिवको अविश्वासको प्रस्ताव नलैजाने भएका हुन् ।
‘विधान अनुसार महासचिवको नियुक्ति र बर्खास्तीको प्रस्तावको मागको सम्बन्धमा अध्यक्षको प्रस्ताबमा मात्र कार्यसमितिल निर्णय गर्ने अधिकार क्षेत्र भित्र पर्ने भएको हुदाँ महासचिवको बर्खास्तीको प्रस्ताव पेश हुदाँ संघको विधानको उल्लंघन हुने भएकाले सो प्रस्तावलाई विशेष साधारण सभामा प्रस्तुत नगर्ने निर्णय भएको छ ।’ एन्फाले बुधबारको कार्यसमिति बैठकको निर्णय सार्वजनीक गर्दै भनेको छ ।
भदौ २५ गते एन्फाका ४९ सदस्यहरुले अध्यक्ष नेम्वाङ र महासचिव राईमाथि १९ आरोप लगाउँदै बर्खास्तीको माग सहित अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । घरेलु फुटबलका कार्यक्रम सञ्चालन गर्न नसकेकोदेखि विधान उल्लंघन गरि एन्फा चलाएको आरोप अध्यक्ष नेम्वाङमाथि छ ।
बिहीबारको एन्फाको आकस्मिक बैठकले उपाध्यक्ष दिपक खतिवडालाई विश्वकप छनोटको तयारीको संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ ।
यस्तै, प्रतियोगिताको टिकेटिङ संघलेनै गर्र्ने र साधारणतर्फ ३ सय र भीआईपीतर्फ ५ सय टिकट दर तोकेर त्यसको व्यवस्थापनका लागि कार्यसमिति सदस्य पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ र प्रवक्ता सुरेश शाहलाई जिम्मेवारी दिने निर्णय भएको छ ।