काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले पहिलो खेलमा फराकिलो जित निकालेको छ ।
मंगलबार राति फराकिलो जित हात पार्ने क्रममा बार्सिलोनाले बेल्जियम क्लब रोयल एन्टवर्पलाई ५-० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा बार्सिलोनाको जितमा जोआओ फेलिक्सले दुई तथा रोबर्ट लेवान्डोस्की र गाभीले समान १ गोल गरे ।
खेलको ११ औं मिनेटमा फेलिक्सको गोलमार्फत बार्सिलोनाले अग्रता लिन सफल भएको थियो । १९ औं मिनेटमा लेवान्डोस्की गोल गर्दै बार्सिलोनाको गोल अन्तरलाई दोब्बर बनाएका थिए ।
बार्सिलोनाले २२ औं मिनेटमा बाटेइलीमार्फत आत्मघाती गोल उपहार स्वरुप पाएको थियो । ५४ औं मिनेटमा गाभीले र ६६ औं मिनेटमा फेलिक्सले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई फराकिलो जित दिलाए ।
फेलिक्स यसै सिजन एट्लेटिको मड्रिडबाट बार्सिलोनामा अनुबन्धित भएका हुन् । गत सिजन लोनमा चेल्सीमा बिताएका फेलिक्सले बार्सिलोनाको जर्सीमा चम्किने संकेत गरेका छन् ।
जितसँगै समूह एच मा बार्सिलोना शीर्ष स्थानमा छ । पराजित एन्टवर्प चौथो स्थानमा रहेको छ ।
सोही समूहको अर्को खेलमा एफसी पोर्टोले सख्तर डोनेस्कलाई ३-१ गोल अन्तरले हराउँदै महत्वपुर्ण तीन अंक जोडेको छ ।